- ब्रह्मदेव यादव, विराटनगर १३३८ पटक हेरिएको
सोमबार, आषाढ १०, २०८१ समय : १३:४६:५७ , ५ महिना अगाडि
विराटनगर स्थित अरनिको आवासीय माध्यमिक विद्यालयका संस्थापक प्रिन्सिपल राजबहादुर कुवँरको ८० वर्षको उमेरमा आइतबार निधन भएको छ । अरनिको आवासीय माध्यमिक विद्यालय र अरनिको कलेजको शेयर बिक्री गरेर ८ वर्षदेखि अमेरिकामा छोरा बुहारी सँग बसोवास गरिरहेका कुवँरको नेपाली समय अनुसार आइतबार राती १० बजे निधन भएको हो । कुवँर लामो समयदेखि नशा सम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो ।
कुवँर प्रेशर सँगै अलजमायर रोगको सामना गरिरहेका थिए । अरनिकोका संस्थापक प्रिन्सिपल कुवँरको छोरा विवेकराज कुवँर र बुहारी तेजल कुवँर अमेरिकाको सिकागो सहरमा २ वटा रेष्टुरेन्ट र फ्रोजन मःमः उद्योग सञ्चालन गरिरहेको छन् । कुवँरका छोरा बुहारी दुवै कम्प्युटर इन्जिनियर हुन् । तर पनि उनीहरु अमेरिकामा व्यापार व्यवसायमा सक्रिय छन् । श्रीमती कमला कुवँर सँगै छोरा बुहारी सँगै बसोवास गरिरहेका कुवँरको अमेरिकामै निधन भएको छ । अमेरिकामा शव व्यवस्थापन गर्न समय लाग्ने भएकोले नेपाली समय अनुसार मंगलबार राती १० बजे कुवँरको अन्तिम संस्कार गरिने कार्यक्रम तय गरिएको छ ।
कुवँरका जेठी छोरी प्रार्थना कुवँर केसी अस्ट्रेलियामा र कान्छी छोरी पुजा कुवँर थापा अमेरिकामा बसोवास गरिरहेका छन् । दुवै छोरी बुवा कुवँरको अन्त्येष्टिमा सहभागि हुन अमेरिकाको सिकागो सहर पुगिसकेका छन् । यस बाहेक अरनिको आवासीय माध्यमिक विद्यालय विराटनगरमा अध्ययन गरेका धेरै विद्यार्थी अमेरिकामै बसोवास गरिरहेकाले उनीहरु पनि कुवँरको अन्त्येष्टिमा सहभागिता जनाउने छन् । काठमाडौंमा जन्मिएका कुवँरले २०३३ सालमा विराटनगरमा अरनिको आवासीय माध्यमिक विद्यालय स्थापना गरेका थिए । पछिल्लो समय राजेश कार्की नेतृत्वको समूहले अरनिको कलेज सञ्चालन गरिरहेका छन् ।
कलेजका सञ्चालक तथा प्रिन्सिपल कार्की सहित ८ जनाको समूहले अरनिको आवासीय माध्यमिक विद्यालय र अरनिको कलेजको शेयर खरिद गरेर विद्यालय र कलेज सञ्चालन गरिरहेका छन् । केही प्रतिशत अझै पनि कुवँरको विद्यालय र कलेजमा शेयर रहेको छ । नशा रोगबाट पीडित कुवँर श्रीमती कमला कुवँरलाई साथमै लिएर ८ वर्ष अगाडि छोरा बुहारी सँग बाँकी जीवन बिताउने उद्देश्यका साथ अमेरिका प्रस्थान गरेका थिए । अरनिको आवासीय माध्यमिक विद्यालयमा आइतबारदेखि प्रथम, त्रैमासिक परीक्षा सञ्चालन भई रहेका छन् । कुवँरको असामयिक निधनले विद्यालय व्यवस्थापन समितिले संस्थापक प्रिन्सिपल कुवँरको सम्झनामा सोमबारको परिक्षा स्थगन गरेर विद्यालय बिदा गरेका छन् ।
सोमबारको परीक्षा बाँकी परीक्षा सकिएपछि लिने विद्यालय व्यवस्थापन समितिले निर्णय गरेको छ । सोमबार कुवँरको सम्झनामा आयोजित श्रद्धाञ्जली सभामा विद्यालयका शिक्षिका सर्वानी भट्टाचार्य, विद्यालयका पूर्व विद्यार्थी सुभास गोयल र दिपेन्द्र अमात्यले कुवँरप्रति समवेदना व्यक्त गरेका थिए । अरनिको आवासीय माध्यमिक विद्यालय र अरनिको कलेजका प्रिन्सिपल राजेश कार्कीले कुवँरको निधनले विद्यालयले एक अभिभावक गुमाएको बताएका छन् ।