गलत निर्णय सच्याउन कार्कीलाई थापाको सुझाव

  • ब्रह्मदेव यादव, विराटनगर ६३८  पटक हेरिएको

सोमबार, आषाढ ०३, २०८१ समय : १५:५९:४४ , ५ महिना अगाडि

नेकपा एमाले मोरङका अध्यक्ष बाबुराम कार्कीलाई गलत निर्णय सच्याउन विराटनगर महानगर कमिटी अध्यक्ष सागर थापाले सुझाव दिएको छ । नेकपा एमाले मोरङ जिल्ला पार्टी कार्यालयमा सोमबार पत्रकार सम्मेलन गरेर विराटनगर महानगर कमिटी अध्यक्ष थापाले क्षमा याचना सहित गलत निर्णय सच्याएको खण्डमा मोरङ अध्यक्ष कार्कीलाई माफी दिने बाचा गरेका छन् ।

थापाले पत्रकार सम्मेलन गरी रहँदा कार्की मोरङ जिल्ला पार्टी कार्यालयमा उपस्थित थिएनन् । थापाको पत्रकार सम्मेलनमा पार्टीका नेता र कार्यकर्ताहरूको बाक्लो संख्यामा सहभागिता रहेको थियो । नेकपा एमाले मोरङका अध्यक्ष कार्कीले विराटनगर–३ स्थित मानगढ खानेपानी संस्थामा पार्टीका उम्मेदवार रामबहादुर घिमिरेलाई हराउन विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापा, महानगर कमिटीका उपसचिव नवराज नेपाल, महानगर कमिटी सदस्य सुरज न्यौपाने र सन्दिप पोखरेल, नेकपा एमाले विराटनगर–३ वडा कमिटी अध्यक्ष लालमणी भट्टराई र नेकपा एमाले मोरङ जिल्ला कमिटी सदस्य मुकेश बुढाथोकीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीको जिम्मेवारीबाट कारवाही गरेका छन् ।

पत्रकार सम्मेलनमा थापाले नेपालको संविधान २०७२ ले जनप्रतिनिधि मूलक संस्था संघीय संसद, प्रदेश सभा, स्थानीय तह र जिल्ला समन्वय समिति तथा पालिका सभामा पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध अन्तर्घात गर्ने पार्टीका नेता तथा कार्यकर्तालाई स्पष्टीकरण सोधेर कारवाही गर्ने प्रावधान छ । तर मानगढ खानेपानी जस्तो संस्थाको निर्वाचनमा भएको अन्तर्घातको विषयलाई लिएर पार्टीका नेता तथा कार्यकर्तालाई कारवाही गर्ने व्यवस्था नभएकोले गरिएको गलत कारवाही क्षमा याचना सहित फिर्ता लिन थापाले मोरङ अध्यक्ष कार्कीलाई सुझाव दिएका हुन् ।

पत्रकार सम्मेलनमा नेकपा एमाले विराटनगर महानगर कमिटीका उपसचिव नवराज नेपालले विराटनगर–३ स्थित मानगढ खानेपानी संस्थामा २६ वर्षदेखि एउटै व्यक्ति अध्यक्ष पदमा रहेको र संस्था भित्र भष्ट्राचार र अनियमितताले जरो गाडेको आरोप लगाएका छन् । संस्थाका अध्यक्ष रामबहादुर घिमिरेले खरीद गरेको जग्गामा मोटो रकम अनियमितता भएको आरोप लगाएका छन् । २६ धुर भनेर खरीद गरिएको जग्गा १२ धुर मात्रै रहेको र जग्गाको चलनचल्ती भाउ ४३ लाख मूल्य रहेकोमा अध्यक्ष घिमिरेले ८७ लाखमा सो जग्गा खरीद गरेर मोटो रकम अनियमितता गरेको आरोप लगाएका छन् ।