- चिरफार डटकम, विराटनगर ४४९ पटक हेरिएको
शुक्रबार, जेठ १८, २०८१ समय : १६:५१:४१ , ६ महिना अगाडि
कोशी प्रदेशको राजधानी विराटनगरका १ हजार भन्दा बढि युवा युवतीले रोजगारीका लागि फारम भरेका छन् । नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र स्थानीय सरकार विराटनगर महानगरपालिकाले विराटनगरमा जेठ १७ र १८ गते गरी दुई दिने श्रमाधान रोजगार मेलाको आयोजना गरेका थिए । जुन मेलाको संयोजन निजी क्षेत्र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिले गरेको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष उद्योगी राजेन्द्र राउतले बेरोजगार युवा युवतीलाई रोजगार उपलब्ध गराउने उद्देश्यका साथ कोशी प्रदेशमा श्रमाधान रोजगार मेलाको आयोजना गरेको बताए । अध्यक्ष राउतले दुई दिने रोजगार मेलामा १ हजार भन्दा बढि युवा युवतीले रोजगारका लागि फारम भरेको र जस मध्ये २ सय ५० भन्दा बढि दक्ष युवा युवतीलाई रोजगार उपलब्ध गराउने बताए ।
विराटनगरको सिटी प्यालेस होटल एण्ड रिसोर्टमा आयोजित दुई दिने श्रमाधान रोजगार मेलामा आयोजकले ५० भन्दा बढि स्टलबाट रोजगारीको लाइनमा रहेका युवा युवतीहरूको फारम भरेर नाम संकलन गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले जेठ १७ गते बिहीबार श्रमाधान रोजगार मेलाको उद्घाटन गरेका थिए ।