- ब्रह्मदेव यादव, विराटनगर ४२४ पटक हेरिएको
मंगलबार, जेठ ०१, २०८१ समय : १५:२९:२४ , ७ महिना अगाडि
आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८०/०८१ को बैशाख महिनामा लक्ष्यको तुलनामा ११६ प्रतिशतले राजश्व असुली गरेको छ । कार्यालयले बैशाख महिनामा ७० करोड रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य राखेकोमा ८१ करोड रुपैयाँ राजश्व असुली गरेको हो । कार्यालयले बैशाख महिनामा अन्तशुल्क असुली तर्फ १९४ प्रतिशतले राजश्व असुली गर्दै राजश्व असुलीमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।
कार्यालयले बैशाख महिनामा अन्तशुल्क तर्फ २० करोड रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य राखेकोमा ३९ करोड रुपैयाँ राजश्व असुली गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को १० महिनामा (साउनदेखि बैशाख) ७ अर्ब २३ करोड रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य राखेकोमा ६ अर्ब ४९ करोड रुपैयाँ राजश्व असुली गरेको छ । जुन लक्ष्यको तुलनामा ९० प्रतिशतले राजश्व असुली हो ।
कार्यालयले आय कर, अन्तशुल्क कर, मूल्य अभिवृद्धि कर, बहाल कर र ब्याज कर असुली शीर्षकमा कर संकलन गरिरहेका छन् । आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत डा. डि.बी. क्षेत्रीले आर्थिक वर्ष २०८०/०८१ को बाँकी २ महिनाको अवधीमा लक्ष्य अनुसारको राजश्व असुली गर्ने गरी टोली परिचालन भई रहेको जानकारी गराउनु भएको छ ।