विराटनगरमा पर्यटन पत्रकारिता र फोटो ग्राफी सम्बन्धी दुई दिने तालिम सुरु 

  • ब्रह्मदेव यादव, विराटनगर ३९७  पटक हेरिएको

मंगलबार, जेठ ०१, २०८१ समय : १५:२५:४२ , ६ महिना अगाडि

विराटनगरमा पर्यटन पत्रकारिता र फोटो ग्राफी सम्बन्धी दुई दिने तालिम सुरु भएको छ । मंगलबारदेखि सुरु भएको तालिम बुधबारसम्म चल्ने छ । तालिममा कोशी प्रदेशलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरी रहेका ५० जना पत्रकारहरूको सहभागिता रहेका छन् । पत्रकारिताका प्रशिक्षक यज्ञ शर्माले पर्यटन, विश्व ताम्राकारले फोटो ग्राफी र लिलाराज भट्टराईले प्रविधिको बारेमा तालिममा सहभागी पत्रकारलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा नेकपा एमाले निकट प्रेस चौतारी नेपाल, कोशी प्रदेश कमिटीले तालिमको आयोजना गरेको हो । कोशी प्रदेश सरकारका विना विभागीय मन्त्री रामबहादुर  मगरले मंगलबार तालिमको उद्घाटन गरेका छन् । तालिमको उद्घाटन समारोहमा प्रेस चौतारी नेपाल कोशी प्रदेश कमिटीले पाटी निकट एक दर्जन पत्रकारलाई सम्मान गरेका छन् ।

भर्खरै इलाममा सम्पन्न उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेमाङलाई विजय गराउन पार्टीले दिएको जिम्मेवारी पुरा गर्न महत्वपूर्ण योगदान पुर्‍याएको निष्कर्ष निकाल्दै प्रेस चौतारी नेपाल कोशी प्रदेश कमिटीले पत्रकार यज्ञ शर्मा, महेन्द्र बिष्ट, भरत खड्का, भीम चापागाईं, देवेन्द्र कार्की, बाबुराम भण्डारी, सुदिप कोइराला, सुमन सुस्केरा, गणेश उप्रेती, अम्बिका भण्डारी, नवराज बिष्ट, प्रवेश बिष्ट, अर्जुन राई, खगेन्द्र दुधराज, हिमाल दाहाललाई सम्मान गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि बिना विभागीय मन्त्री रामबहादुर मगर र प्रेस चौतारी नेपाल कोशी प्रदेश कमिटीका अध्यक्ष अविजाल बिष्टले पत्रकारहरूलाई प्रशंसापत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरेका थिए । प्रेस चौतारी नेपाल कोशी प्रदेश कमिटीले प्रकाशन गरेको २०८१ सालको क्यालेण्डर कार्यक्रममा विमोचन गरिएको थियो ।