मोरङ उद्योग व्यापार संघमा १६ सदस्यीय निर्विरोध निर्वाचित

  • ब्रह्मदेव यादव, विराटनगर १३९८  पटक हेरिएको

सोमबार, बैशाख २४, २०८१ समय : १३:२९:४२ , ७ महिना अगाडि

मोरङ उद्योग व्यापार संघमा १६ जना कार्यकारिणी सदस्य निर्विरोध निर्वाचित भएका छन् । मोरङ उद्योग व्यापार संघको ३४औं कार्यकारिणी समिति गठनका लागि सोमबार सम्पन्न निर्वाचन प्रणालीबाट १६ जना कार्यकारिणी सदस्य निर्विरोध निर्वाचित भएका हुन् । संघको विधानमा नयाँ कार्यकारिणी समिति गठनका लागि पहिलो चरणमा उद्योग क्षेत्रबाट ८ र वाणिज्य क्षेत्रबाट ८ गरी १६ जना कार्यकारिणी समिति सदस्य निर्वाचित हुने व्यवस्था छ ।

उद्योग क्षेत्रबाट देवाशिष गोल्छा, विनित सिंघानिया, अमितकुमार सारडा, अनुपम राठी, अमित राठी, आशिष जाजु, पवन राठी र विकासकुमार बेगवानी तथा वाणिज्य क्षेत्रबाट अनिलकुमार साह, संजयकुमार श्रेष्ठ, सुशिल सुराना, विवेक अग्रवाल, मनिषकुमार मारु, अनिल सारडा, राजेशकुमार बगडिया (अग्रवाल) र दिपेश सुवेदी निर्विरोध निर्वाचित भएका छन् । दोस्रा चरणमा निर्वाचित कार्यकारिणी सदस्यबाट अध्यक्ष निर्वाचित हुने व्यवस्था छ ।

नवनिर्वाचित अध्यक्षले कार्यकारिणी सदस्यहरूको रायसुझाव र सल्लाह बमोजिम पदाधिकारी मनोनयन गर्ने व्यवस्था छ । नवनिर्वाचित अध्यक्षले बरिष्ठ उपाध्यक्ष, दुई जना उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष मनोनयन गर्ने व्यवस्था छ । नवनिर्वाचित अध्यक्ष सहित पदाधिकारी र कार्यकारिणी समितिको बैठकले वस्तुगत क्षेत्रबाट दुई जना सदस्य मनोनयन गर्ने व्यवस्था छ ।

गोपाल अग्रवाल र ओम शर्मालाई वस्तुगत क्षेत्रबाट मनोनयन गर्न लागिएको मोरङ उद्योग व्यापार संघ निकट समाचार सूत्रले जानकारी गराएको छ । ३३औं कार्यकारिणी समितिमा बरिष्ठ उपाध्यक्ष रहेका अनुपम राठी ३४औं कार्यकारिणी समितिको अध्यक्ष पदको जिम्मेवारी पाउने टुंगो लागेको छ ।