- ब्रह्मदेव यादव, विराटनगर ६०५ पटक हेरिएको
मंगलबार, बैशाख १८, २०८१ समय : १४:५२:४९ , ७ महिना अगाडि
कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङलाई पदको मर्यादा कायम राख्न सुझाव दिएका छन् । साथै नेपालको संविधान २०७२ ले प्रदेश सरकार गठन र अधिकारको बारेमा व्यवस्था गरेको संविधानको धारा उपधारा उल्लेखित ज्ञापन पत्र प्रदेश प्रमुख खापुङलाई बुझाएका छन् ।
कोशी प्रदेश सरकारका कानुनी सल्लाहकार महान्यायाधिवक्ता रूपेश कोइरालालाई लिएर मंगलबार विराटनगर स्थित प्रदेश प्रमुख कार्यालय पुगेर मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख खापुङलाई नेपालको संविधान २०७२ ले प्रत्यायोजन गरेको अधिकारको दायरा भित्र रहेर कदम चाल्न सुझाव दिएका छन् । कोशी प्रदेश सभामा विपक्षी दलले संकल्प प्रस्ताव मार्फत मुख्यमन्त्री कार्कीलाई हटाउन खोजेका छन् । र त्यस कार्यमा प्रदेश प्रमुख खापुङको साठगाठ रहेकोले मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख खापुङलाई संविधान भन्दा बाहिर नजान सुझाव दिएको हो ।
नेपालको संविधानको धारा १७३ ले संवैधानिक रुपमा रहेको प्रदेश प्रमुखले संविधानको मर्म एवं भावनाको संरक्षण र क्रियाशीलताका लागि अझै जागरुक हुन प्रदेश प्रमुख खापुङलाई आग्रह गरेका छन् । विश्वको इतिहासमा प्रजातान्त्रिक मुलुकमा आजसम्म संकल्प प्रस्तावको माध्यमबाट सरकार परिवर्तनको प्रयास नभएको मुख्य मन्त्री कार्कीले प्रदेश प्रमुख खापुङलाई ध्यानाकर्षण गराएका छन् ।
२०८१ बैशाख ७ गते कोशी प्रदेश सभाबाट बहुमतले पारित संकल्प प्रस्ताव संविधान विपरित रहेको समेत मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख खापुङलाई जानकारी गराएका छन् ।