सशस्त्र प्रहरीको संरक्षणमा तस्करी

  • ब्रह्मदेव यादव, विराटनगर ७६३  पटक हेरिएको

बुधबार, बैशाख ०५, २०८१ समय : १५:५३:२५ , ७ महिना अगाडि

सशस्त्र प्रहरीको संरक्षणमा नेपाल भारतको सीमान्त क्षेत्र रानी नाकाबाट खुलेआम तस्करी भई रहेका छन् । जुन तस्करीबाट प्राप्त अवैध रकम सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रदेश प्रमुख डिआइजी अन्जनीकुमार पोखरेल, सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी विश्वबन्धु खड्का र सशस्त्र प्रहरी बल रानी कार्यालयका प्रमुख डीएसपी महेशकुमार केसी समक्ष पुग्ने गरेका छन् । यस विषयमा नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जानकार छ की छैन भन्ने प्रश्न खडा भएको छ ।

डिआइजी पोखरेल, एसपी खड्काको मिलेमतोमा सशस्त्र प्रहरी बल रानी कार्यालयका प्रमुख डीएसपी केसीले तस्कर समूहबाट अवैध रकम असुली गरी रहेका छन् । प्रत्येक दिन ५० भन्दा बढि तस्कर समूहले ड्युटीमा तैनाथ सशस्त्र प्रहरी बललाई अवैध रकम बुझाएर सीमान्त क्षेत्र भारतको जोगबनी बजारबाट लाखौं रकम बराबरको सामान रानी नाका भएर विराटनगर भित्र्याइ रहेका छन् । सर्वसाधारणले घरका लागि चाहिने आवश्यक चिनी र खाद्यान्न सामग्री ल्याँउदा त्यसलाई चेक जाँच गरेर भन्सार नाका कडाइ गरेको देखाउने तर तस्कर समूहले मोटो परिमाणमा भित्र्याउने गरेको कपडा बारे मुख दर्शक बनिरहेका छन् ।

तस्कर समूहले भारतको जोगबनी बजारबाट खरीद गरेर दशगजा सम्म ल्याउने गरेको कपडा रानी नाका भएर विराटनगर भित्र्याउन बालबालिकादेखि महिला र पुरुष कामदारको प्रयोग गरी रहेका छन् । रानी नाकामा तैनाथ सशस्त्र प्रहरी बलको मिलेमतोमा ओसार पोशाक भई रहेको कुनै पनि तस्करको सामान पक्राउ गर्न हिम्मत गर्दैन । तस्करीमा संलग्न बालबालिकादेखि महिला र पुरुष कामदारले ड्युटीमा तैनाथ सशस्त्र प्रहरीलाई तस्करको नामै किटेर यो फलानोको सामान हो भन्दै ल्याउने गरेका छन् ।

तस्कर समूहले रानी नाकाको ५ सय मिटर पर नेपाल तर्फ रहेका होटल, लज र पसलमा दिनभरी ओसार पोशाक गरेर ल्याएको मोटो परिमाणको कपडा जम्मा गर्ने र साँझ पख दश देखि बिस बोरामा प्याक गरेर विराटनगरदेखि इटहरी, धरान र बिर्तामोडसम्म पुर्‍याउने गरेका छन् । जुन कपडा तस्करीमा राज्यलाई प्रत्येक दिन मोटो रकम राजश्व गुमी रहेका छन् । जुन तस्करीबाट सशस्त्र प्रहरीले प्रत्येक दिन लाखौं अवैध रकम बुझीरहेका छन् ।

सशस्त्र प्रहरी बल रानीका प्रमुख डीएसपी केसी, एसपी खड्का र डिआइजी पोखरेलले रानी नाकामा सादा पोशाकमा परिचालन घुमुवा प्रहरी पनि तस्करीमा संलग्न रहेको तथ्य बाहिरिएका छन् । तर घरका लागि सर्वसाधारणले जोगबनीबाट ल्याउने गरेको दुई चार पिस साडी र कुर्तासलवार सशस्त्र प्रहरीले पक्राउ गरेर जफत गर्ने र यसरी जफत गरिएको लत्ताकपडा न्यून संख्यामा विराटनगर भन्सार कार्यालयमा दाखिला गरेर बाँकी लत्ताकपडाको हिसाब किताब गोलमाल भई रहेको समाचार स्रोतले जानकारी गराएको छ । यस विषयमा सशस्त्रका डिआइजी पोखरेल सँग सम्पर्क गर्न खोज्दा वहाँ सम्पर्कमा आउन चाहनु भएन ।