उद्योग ठुलो कि व्यापार ?

  • ब्रह्मदेव यादव, विराटनगर ५४१  पटक हेरिएको

आइतबार, बैशाख ०२, २०८१ समय : १३:०५:४४ , ७ महिना अगाडि

उद्योग ठुलो कि व्यापार भन्ने विषयलाई लिएर मोरङ उद्योग व्यापार संघमा बहस छेडिएको छ । मोरङ उद्योग व्यापार संघमा केही समय पछि ३४औं कार्यकारिणी समिति गठनका लागि निर्वाचन गर्ने समय सिमा तोकिएको छ । संघमा बरिष्ठ उपाध्यक्ष पदको नेतृत्व सम्हाली सकेका पदाधिकारी आगामी अधिवेशन मार्फत स्वतः अध्यक्ष पदमा पुग्ने परम्परा छ ।

संघको ३३औं कार्यकारिणी समितिमा वरिष्ठ उपाध्यक्ष रहेका अनुपम राठी ३४औं कार्यकारिणी समितिमा अध्यक्ष कुर्सी सम्हाल्ने टुंगो लागि सकेको छ । तर ३५औं कार्यकारिणी समितिमा अध्यक्ष पदको कुर्सी को सम्हाल्ने र त्यसका लागि वरिष्ठ उपाध्यक्षको पद कसरी हात पार्ने विषयमा संघ भित्र गरमागरम बहस जारी छ । संघको ३२औं कार्यकारिणी समितिमा प्रकाश मुन्दडा अध्यक्ष रहँदा अनुपम राठी उद्योग र विकाशकुमार बेगवानी वाणिज्य तर्फका उपाध्यक्ष रहेका थिए ।

३३औं कार्यकारिणी समितिमा नविन रिजाल अध्यक्ष पदमा निर्वाचित भएपछि उद्योग तर्फका उपाध्यक्ष अनुपम राठीलाई पहिलो स्थानमा राखेर बरिष्ठ उपाध्यक्षको पदमा पुर्‍याएका थिए । तर यति खेर उद्योग तर्फका उपाध्यक्ष विकासकुमार बेगवानी माथि अन्याय गरेर वाणिज्य तर्फका उपाध्यक्ष अनिल साहलाई पहिलो स्थानमा राखेर बरिष्ठ उपाध्यक्ष बनाउने विषयमा संघका अग्रजहरू लागि परेकोले बरिष्ठ उपाध्यक्ष पदको विषयलाई लिएर बहस छेडिएको हो ।

बरिष्ठ उपाध्यक्ष पदको विषयलाई लिएर छेडिएको बहसले संघ भित्रको चुनावी माहोल गरमागरम अवस्थामा पुगेको छ । र बरिष्ठ उपाध्यक्ष पदको टुंगो नलागेसम्म र सम्झौता पत्रमा हस्ताक्षर नभएसम्म संघको अध्यक्ष चयन नहुने अडानमा संघका मतदाता रहेका छन् ।