सुनसरीको चतरामा संकटमोचन श्रीहनुमद् महायज्ञ

  • ब्रह्ममदेव यादव, विराटनगर १६०९  पटक हेरिएको

मंगलबार, चैत्र २०, २०८० समय : २१:०२:०४ , ८ महिना अगाडि

सुनसरी जिल्लाको चतरामा नयाँ वर्ष २०८१ सालको बैशाख १ गतेदेखि ११ गतेसम्म संकटमोचन श्रीहनुमद् महायज्ञको आयोजना हुन लागेको छ । जगदगुरु श्रीरामानन्दाचार्य सेठा पीठ बराहक्षेत्र चतराले १० करोड भन्दा बढि रकम खर्चेर महायज्ञको आयोजना गर्न लागेको हो । भारतको मध्य प्रदेश स्थित बागेश्वर धामका हिन्दुधर्मगुरु धीरेन्द्रकुमार शास्त्री सहभागिता जनाउँदै धार्मिक प्रवचन दिने कार्यक्रम रहेको छ ।

सुनसरीको चतरामा आयोजना हुन लागेको कुम्भ मेलाको पावन अवसरमा बैशाख १ देखि ११ गतेसम्म महायज्ञ हुन लागेको हो । जुन महायज्ञमा प्रत्येक दिन हवन र शतसंग हुने छ । बैशाख ५ गतेदेखि ११ गतेसम्म धीरेन्द्रकुमार शास्त्रीले महायज्ञमा श्रीहनुमद् कथा वाचन गर्ने छन् । अनन्त श्रीविभुषित जगद्गुरु श्रीरामानन्दाचार्य  स्वामी श्रीरामकृष्णाचार्य महायोगी सिद्धबाबाले मंगलबार विराटनगरमा सबै क्षेत्रका व्यक्तिहरू सँग छलफल गरेर महायज्ञमा सहभागिता जनाउन निम्तो गरेका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख डीआइजी चन्द्रकुवेर खापुङ, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नवराज कार्की, राष्ट्रिय अनुसन्धान विभाग मोरङका एसपी तिलक प्रसाईँ, विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकाल, आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत डा. डीवी क्षेत्री, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया, श्याम मन्दिर विराटनगरका अध्यक्ष राकेश बंशल, उपाध्यक्ष विकाश चौधरी महायज्ञ सम्बन्धी आयोजना गरिएको छलफल कार्यक्रममा सहभागि थिए ।

सुनसरीको चतरामा २ सय करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको श्रीराम मन्दिरको बैशाख ५ गते शिलान्यास गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति रामचन्द पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र भारतको बागेश्वरधामका धर्मगुरु धीरेन्द्रकुमार शास्त्रीले श्रीराम मन्दिरको शिलान्यास गर्ने कार्यक्रम रहेको सिद्धबाबा श्रीरामकृष्णाचार्यले बताए ।