- ब्रह्मदेव यादव, विराटनगर १००० पटक हेरिएको
आइतबार, चैत्र १८, २०८० समय : १५:२८:०३ , ८ महिना अगाडि
थारू कल्याणकारिणी सभा जिल्ला कार्यसमिति मोरङमा आइतबार दुईवटा ताल्चा फुटाएर पदाधिकारी र सदस्यहरूको पदस्थापन गरिएको छ । सभाका पूर्व मोरङ जिल्ला अध्यक्ष प्रदिप भगत थारूले निर्वाचन प्रणाली प्रति असहमति जनाउँदै निर्वाचन बहिष्कार पछि कार्यालयमा ताल्चा बन्दी गरेका थिए । पूर्व अध्यक्ष भगत थारूको समूहले विराटनगर–३ स्थित जिल्ला कार्यालयको मूलगेटको गृल र भित्र प्रवेशद्वारको ढोकामा बेग्लाबेग्लै ताल्चा लगाएका थिए ।
चैत्र ७ गतेको निर्वाचनबाट प्रदिपकुमार विश्वास अध्यक्ष सहित पदाधिकारी र सदस्यहरू निर्वाचित भएका थिए । नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई आइतबार सपथ ग्रहण एवं पदस्थापन गर्ने मिति तय गरिएको थियो । नवनिर्वाचित पदाधिकारी र सदस्यहरू पदस्थापन समारोहमा सहभागि हुन मोरङ जिल्ला कार्यालय पुगेका थिए । तर भगत थारू समूहले कार्यालयमा लगाएको ताल्चाबन्दीका कारण तोकिएको समय भन्दा २ घण्टा ढिलोसम्म पदस्थापन कार्यक्रम सञ्चालन हुन सकेन । तत्पश्चात नवनिर्वाचित पदाधिकारी र सदस्य सहित आगन्तुक थारू समुदायका अगुवाहरूले कार्यालयमा लगाएको ताल्चा फोडेर पदस्थापन कार्यक्रम सम्पन्न गरेका छन् ।
नेपाली कांग्रेस मोरङका कार्यवाहक सभापति तथा थारू कल्याणकारिणी सभाका केन्द्रिय सदस्य भक्तिनाथ माझीले प्रमुख अतिथिको आसनबाट नवनिर्वाचित मोरङ जिल्ला अध्यक्ष प्रदिपकुमार विश्वास सहित पदाधिकारी र कार्यसमितिका सदस्यहरूलाई सपथ ग्रहण तथा पदस्थापन गराएका थिए । चैत्र ७ गतेको निर्वाचनबाट थारू कल्याणकारिणी सभा मोरङको अध्यक्षमा प्रदिपकुमार विश्वास, उपसभापतिमा जागेश्वरप्रसाद विश्वास, बाबुराम चौधरी र जयन्ती खा, सचिवमा प्रसान्त चौधरी, सहसचिवमा मनोजकुमार विश्वास, कोषाध्यक्ष ललितकुमार चौधरी निर्वाचित भएका थिए ।
आशावति थारू, अनिता देवी विश्वास, इन्दुदेवी चौधरी, ज्ञानचन्द्र गच्छदार, चुडामणी धामी थारू, बन्नालाल चौधरी, रम्भाधामी थारू, महेशप्रसाद चौधरी, शिवराम थान्दार, रखिलाल चौधरी सदस्यमा निर्वाचित भएका थिए । कन्नुलाल चौधरी, भक्तिनाथ माझी, चुमनारायण तवदार, बालचन्द माझी, दुखाराम गच्छदार, भुखनी देवी माझी, गेनादेवी चौधरी र सरस्वती चौधरी केन्द्रिय प्रतिनिधि पार्सदमा निर्विरोध निर्वाचित भएका थिए ।