बजेटमा भेदभाव नगर्न विराटनगर महानगरपालिकालाई दलित महिला संघको आग्रह

  • चिरफार डटकम, विराटनगर ४१३  पटक हेरिएको

शुक्रबार, चैत्र ०२, २०८० समय : १५:३६:२५ , ८ महिना अगाडि

दलित महिला संघ मोरङले बजेटमा भेदभाव नगर्न विराटनगर महानगरपालिकालाई आग्रह गरेका छन् । संघले शुक्रबार विराटनगरमा मिडिया सँग अन्तरक्रिया कार्यक्रम गरेर दलितका लागि विनियोजन हुने गरेको बजेटमा विराटनगर महानगरपालिकाले भेदभाव गरेको आरोप लगाए ।

संघका मोरङ जिल्ला अध्यक्ष शर्मिला परियार, संघका कोशी प्रदेश अध्यक्ष पाण्डु परियार, संघका कोशी प्रदेश सचिव दुर्गा नेपालीले आर्थिक वर्ष २०८०/०८१ मा विराटनगर महानगरपालिकाले दलित शीर्षकको बजेट कटौती गरेर ठगेकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट विनियोजन गर्दा बजेटमा भेदभाव नगर्न र दलितलाई नठग्न सचेत गराएका छन् ।

विराटनगर महानगरपालिकाले २०८०/०८१ को बजेट विनियोजन गर्दा दलित शीर्षकको बजेट पूर्णरुपमा कटौती गरेका थिए । विराटनगर महानगरपालिकाले १९ वटै वडाका लागि बजेट विनियोजन गर्दा वडा नं. ८ मा दलितका लागि  १ लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए । बाँकी वडामा दलित शीर्षकको बजेट कटौती गरेका थिए ।

कार्यक्रममा दलित महिला संघ मोरङका जिल्ला परियोजना संयोजक नरबहादुर आउजीले नेपालको संविधानले दलित हक अधिकारको ग्यारेन्टी गरेपनि कार्यान्वयन पक्ष कमजोर हुँदा दलित समुदाय शिक्षामा पछाडि परेको बताए ।