- चिरफार डटकम, विराटनगर ७३७ पटक हेरिएको
आइतबार, फाल्गुण १३, २०८० समय : १४:४४:१९ , १० महिना अगाडि
यही फागुन १६ गतेदेखि विराटनगरमा १०औं संस्करणको मारवाडी प्रिमियर लिग क्रिकेट प्रतियोगिता (एमपियल) सुरुहुँदैछ । नेपाल अग्रवाल युवा मञ्च विराटनगरले विराटनगर–२ स्थित विराट नर्सिङ होम पूर्व शंकरपुर मार्गमा आयोजना गर्न लागेको एमपियल क्रिकेट प्रतियोगितामा ५ टिमको सहभागिता रहने छ । प्रतियोगिता फागुन १९ गते समापन हुने छ ।
नेपाल अग्रवाल युवा मञ्च विराटनगरले आइतबार पत्रकार सम्मेलन गरेर एमपियल क्रिकेट प्रतियोगितामा नेपाल अग्रवाल युवा मञ्चको केएसबी रोयल्स, महेश्वरी युवा मञ्चको प्रिमियर–११, ओस्वाल युवा मञ्चको अरिहन्त–११, नेपाल मारवाडी ब्राह्मण युवा मञ्चको पर्शुराम वारियर्स र मेंढ स्वर्णकार युवा मञ्चको सिएसबी टाइटन टिम सहभागिता रहने छ ।
प्रतियोगिताको विजेता टिमले ट्रफी सहित नगद ६१ हजार र उपविजेता टिमले २१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने अध्यक्ष मनिष अग्रवालले बताए । रंगेली नगरपालिकाका मेयर दिलिप बगडियाले प्रतियोगिताको उद्घाटन गर्नेछ । नेपाल राष्ट्रिय मारवाडी परिषदका केन्द्रिय अध्यक्ष पवन मित्तलले प्रतियोगिताको समापन गर्नेछ ।
११ लाख रुपैयाँ खर्च गरेर आयोजना गर्न लागिएको एमपियल क्रिकेट प्रतियोगितालाई आनन्द ईट्टा, रमपम चाउचाउ, सेन्चुरियन, बाग्मती, लक्ष्मी सनराइज बैंक र मेट लाईफ इन्सुरेन्सले स्पोन्सर गरेका छन् ।
पत्रकार सम्मेलनमा नेपाल अग्रवाल युवा मञ्च विराटनगरका अध्यक्ष मनिष अग्रवाल, एमपियल चियरमेन अभिषेक केडिया, एमपियल १०औं संस्करणका मुख्य संयोजक चेतन अग्रवाल, संयोजक अंकुर कनोडिया र संयोजक निशान्त अग्रवालको सहभागिता रहेको थियो ।