इस्कोन विराटनगर दुई चिरामा विभाजित 

  • ब्रह्मदेव यादव, विराटनगर ९२६  पटक हेरिएको

आइतबार, फाल्गुण ०६, २०८० समय : १८:०९:५२ , ९ महिना अगाडि

नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन) विराटनगर दुई चिरामा विभाजित भएका छन् । इस्कोन नेपालका केन्द्रिय समितिका पदाधिकारीहरूको निरंकुश तानाशाही प्रवृत्तिका कारण इस्कोनको विराटनगर शाखा दुई चिरामा विभाजित हुन पुगेको छ । वैष्णव समाज भित्र अवैष्णव कृयाकलाप बढेपछि इस्कोन धर्मावलम्बीहरू असन्तुष्ट बनेका छन् । धार्मिक संस्था भित्र यस्तै प्रकारको रवैयाले प्रसय पाउने हो भने इस्कोनका असन्तुष्ट पक्षले बेग्लै धार्मिक संस्था गठन गरेर अगाडि बढ्ने गरी देशभरीका शाखा कार्यालयसँग छलफल जारी राखेका छन् ।

इस्कोन विराटनगरका निवर्तमान अध्यक्ष मनिष राई (मनः शिक्षा ब्रह्मचारी) ले शनिबार पत्रकार सम्मेलन गरेर केन्द्रिय समितिका पदाधिकारीहरूले आफू खुसी गरेको निर्णयलाई तुरुन्तै नसच्याएको खण्डमा विराटनगरमा इस्कोनको बेग्लै संस्था गठन गर्ने चेतावनी दिएका छन् । इस्कोन नेपालले केही समय अगाडि काठमाडौंमा अधिवेशन गरेर जिल्लाको शाखा कार्यालयमा केन्द्रिय समितिका पदाधिकारीले अध्यक्ष तोक्ने गरी विधान संशोधन गरेका थिए ।

जुन निर्णयको विराटनगर शाखाले विरोध गरेका थिए । लगत्तै केन्द्रिय समितिका पदाधिकारीहरूले विराटनगर शाखा अध्यक्ष मनिष राईलाई हटाएका छन् । इस्कोन नेपालको विराटनगरमा दुईवटा शाखा कार्यालय रहेका छन् । विराटनगरको जलजला चौकमा रहेको एउटा शाखा कार्यालयको रेखदेख तथा व्यवस्थापन केन्द्रिय समितिले गरी रहेको छ । विराटनगरको ट्राफिक चौकमा रहेको अर्को शाखा कार्यालयको सञ्चालनदेखि व्यवस्थापनको जिम्मेवारी मन राई नेतृत्वको समितिले गरी रहेका छन् ।

इस्कोनको केन्द्रिय समितिले सञ्चालन गरी रहेको शाखा कार्यालयमा भक्तजनको संख्या न्यून छ । तर मन राई नेतृत्वको समितिले ट्राफिक चौकमा सञ्चालन गरी रहेको शाखा कार्यालयमा भक्तजनको संख्या बाक्लो छ । १ सय ५० भन्दा बढि भक्तजन रहेको ट्राफिक चौकको शाखा कार्यालयमा इस्कोन धर्म अङ्गाल्ने धर्मावलम्बीहरूको संख्या बढ्ने क्रम जारी छ । जसको कारण अतालिएको केन्द्रिय समितिले पुष्टि नहुने गरी आर्थिक अपचलनको आरोप लगाउँदै ट्राफिक चौकको शाखा कार्यालय विघटन गरेका छन् ।

नेपाल सरकारको गृह मन्त्रालय मार्फत मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई माथि दवाव सृजना गरेर इस्कोनको ट्राफिक चौकको शाखा कार्यालय सञ्चालन भई रहेको भवन खाली गराउन लागि परेका छन् । जुन कामको इस्कोन विराटनगरको ट्राफिक चौक शाखाले विरोध गरेका छन् ।