सुकुम्बासीका घर निर्माणमा मुख्यमन्त्री केदार कार्कीले गरे श्रमदान 

  • ब्रह्मदेव यादव, विराटनगर ३६९  पटक हेरिएको

शुक्रबार, माघ १९, २०८० समय : १४:०४:५० , १० महिना अगाडि

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विराटनगरमा एक सुकुम्बासी परिवारको घर निर्माणमा श्रमदान गरेका छन् । कोशी प्रदेश सभाको ७ वर्षे कार्यकालमा सुकुम्बासी परिवारको घर निर्माणमा श्रमदान गर्ने कार्की कोशी प्रदेशको पहिलो मुख्यमन्त्री बन्ने रेकर्ड कायम गरेका छन् । विराटनगर महानगरपालिकाको वडा नं. १६ स्थित दरैयाबस्तीमा असहाय, विपन्न परिवारका शिव राईले निर्माण गरी रहेको जस्ताको छाना सहितको घरमा मुख्यमन्त्री कार्कीले शुक्रबार श्रमदान गरेका छन् ।

मुख्यमन्त्री कार्कीले घर निर्माणमा श्रमदान गर्दै सहयोग पनि गरेका छन् । मुख्यमन्त्री कार्कीले सुकुम्बासी परिवारको घरमा ओछ्‌याउने र जाडोमा ओढ्ने न्यानो कपडा सहयोग गरेका छन् । मुख्यमन्त्री कार्कीले असहाय, विपन्न, गरिब, दलित र सुकुम्बासी परिवारसँग कोशी प्रदेश सरकार साथमा रहेको सन्देश प्रवाह गर्न निर्माणाधीन राई परिवारको घरमा श्रमदान गरेको बताए ।

चिरफार डटकम सँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले भनेः निर्वाचनको बेला जनतासँग गरेको वाचा पुरा गर्न आफूले श्रमदान गरेको हुँ । मोरङ क्षेत्र नं. ५ का स्वतन्त्र सांसद योगेन्द्र मण्डलले पनि मुख्यमन्त्री कार्की सँगै सुकुम्बासी राई परिवारको घर निर्माणमा श्रमदान गरेका छन् । सांसद मण्डलले राई परिवारको घर निर्माणका लागि जीवन विकास समाज, कटहरीको तर्फबाट आवश्यक सामग्री सहयोग गरेका छन् ।