- ब्रह्मदेव यादव, विराटनगर ६१६ पटक हेरिएको
बिहिबार, माघ १८, २०८० समय : १६:३०:३८ , १० महिना अगाडि
मोरङको बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर उद्योगीलाई सिधै आफू सँग कुरा गरेको खण्डमा देखिएको समस्या समाधान गरी दिने धारणा व्यक्त गरेका छन् । बुढीगंगा गाउँपालिकामा उद्योग सञ्चालन गरी रहेका उद्योगीहरू दोहोरो पटके कर र एउटा उद्योगबाट निस्केको सामान अर्को उद्योगसम्म पुर्याउदा लाग्ने कर लगायतका समस्या लिएर गएका उद्योगीलाई अध्यक्ष थापा मगरले सिधै आफूसँग कुरा गरेको खण्डमा समस्याको समाधान गर्ने गरी सहजीकरण गर्न तयार रहेको बताए । उद्योगीलाई अध्यक्ष थापा मगरले भनेः समग्र बुढीगंगा औद्योगिक करिडोरमा रहेको समस्या समाधान गर्न तयार छु । तर समस्याको बारेमा आफू जानकार हुनुपर्ने उद्योगीलाई सुझाव दिए ।
मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालको नेतृत्वमा उद्योगका सञ्चालकहरू बुढीगंगा औद्योगिक करिडोरमा गाउँपालिकाबाट खडा गरेको समस्याको बारेमा जानकारी गराउने र त्यसको समाधानको पहलकदमी लिन अध्यक्ष थापा मगर कहाँ पुगेका थिए । मोरङ व्यापार संघका अध्यक्ष रिजालले बुढीगंगा गाउँपालिकाको औद्योगिक करिडोरमा उद्योग सञ्चालन गरी रहेका उद्योगीलाई दोहोरो भार पर्ने गरी असुली भई रहेको पटके कर प्रणाली हटाउने विषयमा अध्यक्ष थापा मगरलाई ज्ञापन पत्र बुझाएका छन् ।
संघका अध्यक्ष रिजालले बुढीगंगा औद्योगिक करिडोरमा सञ्चालनमा रहेको उद्योगका सवारी साधनलाई पटके कर असुली नगर्न गाउँपालिका अध्यक्ष थापा मगरलाई सुझाव दिएका छन् । गाउँपालिकाले ठेक्का लगाएको ठेकेदारले उद्योगमा धान खन्याएर फिर्ता भएको बोरामा समेत पटके कर असुली भई रहेकोले त्यसलाई तुरुन्त खारेज गर्न संघका अध्यक्ष रिजालले सुझाव दिएका छन् ।
मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल, महासचिव अनिल सारडा, कार्यसमिति सदस्य मनिष मारु, संघका प्रमुख कार्यकारी अधिकृत कृष्ण रेग्मी, उद्योग संगठन मोरङका कोषाध्यक्ष सुबोध कोइराला, नेपाल उद्योग परिसंघ कोशीका उपाध्यक्ष रमेश राठी, उद्योगी श्रवण अग्रवाल सहित उद्योगी र उद्योगका प्रतिनिधिहरूको प्रतिनिधि मण्डलले बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर, उपाध्यक्ष अमृताकुमारी गच्छदार, प्रमुख प्रशासकीय अधिकृत संजिव न्यौपाने छलफलमा सहभागि थिए । बुढीगंगाको औद्योगिक करिडोरमा १ सय भन्दा बढि उद्योग सञ्चालन भइरहेका छन् ।