भन्सार प्रतिनिधि भगतको कपडा आयात कारोबार रहस्यमय

  • ब्रह्मदेव यादव, विराटनगर ५९८  पटक हेरिएको

सोमबार, पुष २३, २०८० समय : १५:२६:३२ , ११ महिना अगाडि

विराटनगरका कपडा कारोबारी एवं भन्सार प्रतिनिधि संजित भगतको साफटा सुविधाको कपडा आयात कारोबार रहस्यमय रहेको तथ्य बाहिरिएको छ । राजश्व अनुसन्धान विभागले भगतको रहस्यमय तथ्य बाहिर ल्याउने तयारी गरेको छ । भन्सार प्रतिनिधि भगतले मोरङको विराटनगर, झापाको काँकरभिट्टा र सुनसरीको कोशी ब्यारेज भन्सार कार्यालयबाट साफटा सुविधाको सदुपयोग गर्दै नेपालमा मोटो परिमाणमा कपडा आयात गरेर बिक्री वितरण गरी रहेका छन् ।

भगतले भारतबाट साफटा सुविधाको सदुपयोग गरेर अन्य कपडा कारोबारी भन्दा भगतको कपडा सस्तो भएकोले मेचीदेखि महाकालीसम्म भगतको कपडाको एकलौटी कारोबार रहेको छ । कपडा व्यवसायीले भारतबाट नेपालमा कपडा आयात गर्दा १५ प्रतिशत भन्सार राजश्व लाग्ने व्यवस्था छ । तर साफटा सुविधाको सदुपयोग गर्नेले ७.२५ प्रतिशत मात्रै भन्सार राजश्व बुझाउनु पर्ने व्यवस्था छ ।

भगतले साफटा सुविधाको सदुपयोग गरेर १ वर्षमा २० करोड भन्दा बढि रुपैयाँको कपडा नेपालमा आयात गरी रहेका छन् । भगतले एउटै प्रज्ञापनपत्र मार्फत विराटनगर सँगै काँकरभिट्टा र कोशी ब्यारेज भन्सार कार्यालयबाट मोटो परिमाणमा कपडा आयात गर्ने गरेको सूचनाको आधारमा राजश्व अनुसन्धान विभागको केन्द्रिय टोलीले मंसिर १७ गते विराटनगर स्थित भगतको गोदाममा छापा मारेर कारोबारको सम्पूर्ण कागजात नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेका छन् ।

भगतले गोदाममा जम्मा गरेको कपडा प्रज्ञापनपत्र सँग मेल नखाएको र एउटै प्रज्ञापनपत्र मार्फत विराटनगर, काँकरभिट्टा र कोशी ब्यारेज भन्सार कार्यालयबाट कपडा आयात गरेको जालसाज कारोबारको पर्दाफास गरेका छन् । यस विषयमा कपडा कारोबारी भगतसँग सम्पर्क गर्दा भगत सम्पर्कमा आउँन मान्नु भएन ।