इतिहास रच्दै भव्य रुपमा सम्पन्न हुँदैछ मोरङ व्यापार संघको एक्स्पो 

  • ब्रह्मदेव यादव, विराटनगर ६९८  पटक हेरिएको

शुक्रबार, पुष १३, २०८० समय : १५:१२:३७ , ११ महिना अगाडि

मोरङ व्यापार संघ विराटनगरले इतिहास रच्दै भव्य रुपमा मोरङ व्यापार संघको एक्स्पो समापन गर्ने दिन नजिकै आइपुगेको छ । सन् २०२३ को बिदाई सँगै सन् २०२४ लाई स्वागत गर्दै संघले एक्स्पो समापन गर्ने छ । संघले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरेर संघको एक्स्पोले इतिहास रच्न लागेको जानकारी गराए । पत्रकार सम्मेलनमा संघका अध्यक्ष नविन रिजाल, बरिष्ठ उपाध्यक्ष अनुपम राठी, उपाध्यक्ष विकासकुमार बेगवानी, उपाध्यक्ष तथा एक्स्पो संयोजक अनिल साह र कार्यकारिणी समिति सदस्य अनुपम राठी उपस्थित थिए ।

संघका अध्यक्ष नविन रिजालले ५५ फिट अग्लो फ्रान्सको एफिल टावरलाई मोरङ व्यापार संघको सेल्फी टावरको रुपमा परिणत गरेकोले सेल्फी खिच्नैका लागि एक्स्पोमा दर्शक तथा उपभोक्ताको भिड लाग्ने गरेको बताए । मोरङ व्यापार संघ स्थापित संस्था हो । र यस्तो संस्थाले गरेको कामलाई विराटनगर सहित कोशी प्रदेश वासीले मन पराएकोले एक्स्पोले नयाँ इतिहास रच्न नजिक पुगेको अध्यक्ष रिजालले बताए ।

विराटनगर एक्स्पोमा प्रस्तुतिका लागि काठमाडौंबाट आउने कलाकारहरूले काठमाडौंमै कार्यक्रम गर्दा दर्शकले ५ देखि ४० हजार रुपैयाँसम्मको टिकट काटेर सांस्कृतिक कार्यक्रम हेर्नुपर्छ तर विराटनगरमा मोरङ व्यापार संघले आयोजना गरेको एक्स्पोमा १०० रुपैयाँको टिकट काटेर त्यही चर्चित राष्ट्रिय कलाकारहरूको सांस्कृतिक कार्यक्रमको प्रस्तुती हेर्न पाउनु दर्शकको खुशी र उमङ्गको कुरा भएको अध्यक्ष रिजालले बताए ।

विराटनगर–२ स्थित विराट नर्सिङ होम पूर्व शंकरपुर मार्गमा मोरङ व्यापार संघले २०८० पुस ६ देखि १६ गतेसम्मका लागि मोरङ व्यापार संघ एक्स्पो आयोजना गरेको छ । नेपाल, भारत, बंगलादेश र पाकिस्तान गरी ४ देशका २३० भन्दा बढि औद्योगिक स्टल एक्स्पोमा रहेको छन् ।