- ब्रह्मदेव यादव, विराटनगर ७५६ पटक हेरिएको
बिहिबार, पुष १२, २०८० समय : १६:००:०९ , ११ महिना अगाडि
विराटनगर भन्सार कार्यालयले भन्सार एजेन्ट पृथ्वीराज साहलाई ७ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ । भन्सार एजेन्ट साहले एउटै सामान छुटाउनको लागि २ वटा प्रज्ञापन पत्र भरेको र विराटनगर भन्सार कार्यालयले स्वीकृति प्रदान गरेको प्रज्ञापन पत्रमा घोषणा गरेको सामान भन्दा बढि सामान देखिएकोले कारवाही गरिएको हो । भन्सार एजेन्ट साहले प्रज्ञापन पत्र मार्फत घोषणा गरेको सामान चेक जाँच पासको क्रममा बढि देखिएपछि विराटनगर भन्सार प्रशासनले सामानको मूल्यको तुलनामा २०० प्रतिशतसम्मका दरले जरिवाना गरेका छन् ।
विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकालले घोषणा गरे भन्दा बढि सामान भेटिएकोले भन्सार एजेन्ट साहलाई ७ लाख ५० हजार रुपैयाँ जरिवाना गर्दै कारवाही गर्ने प्रक्रिया अगाडि बढाएका छन् । विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकीनन्दन शर्माको नेतृत्वमा बिहीबार भन्सार एजेन्टहरूको टोलीले प्रज्ञापन पत्र भर्ने क्रममा गल्ती भएकोले नयाँ भन्सार एजेन्ट साहलाई यत्रो मोटो रकम जरिवाना गर्नु नहुने भन्दै भन्सार प्रमुख ढकाल सँग बिहीबार छलफल गरेका छन् ।
एक पटक प्रज्ञापन पत्र भरी सकेपछि त्यो प्रज्ञापन पत्र अनलाइन प्रविधि मार्फत भन्सार विभागमा रेकर्डिङ भैसकेकोले भन्सार प्रमुख ढकालले चाहेर पनि जरिवाना गरिएको रकम परिमार्जन गर्न सक्दैनन् । जरिवाना गरिएको रकम परिमार्जन गरेको खण्डमा त्यस कार्यमा भन्सार प्रमुख ढकालको संलग्नता रहेको आरोपमा उनी माथि भन्सार विभाग र अर्थमन्त्रालयले कारवाही गर्न सक्छ ।
केही समय अगाडि पूर्व भन्सार प्रमुख तारा सापकोटाले एकपटक प्रज्ञापन पत्र भरिसकेको फारमलाई दोहोराएर पुनः प्रज्ञापन पत्र भरेपछि आर्थिक अपचलनको आरोपमा विराटनगर भन्सार कार्यालयबाट कारवाहीमा परेर भन्सार विभाग पुगेका थिए ।