३ वर्षभित्र सञ्चालनमा ल्याउने गरी २ अर्ब ५० करोडको लगानीमा आर.आर. इन्टरनेश्नल अस्पतालको निर्माण कार्य सुरु 

  • ब्रह्मदेव यादव, विराटनगर १४६५  पटक हेरिएको

बुधबार, पुष ०४, २०८० समय : १६:०३:२१ , ११ महिना अगाडि

शिवम् अर्गनाईजेशनका अध्यक्ष  एवं उद्योगी राजेन्द्र राउतले ३ वर्षभित्र सञ्चालनमा ल्याउने गरी २ अर्ब ५० करोडको लगानीमा आर.आर. इन्टरनेश्नल अस्पताल निर्माण गर्ने तयारी थालेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ (एफ.एन.सि.सि.आई) कोशी प्रदेश समितिका अध्यक्ष उद्योगी राजेन्द्र राउतले आफ्नो र नातिनीको नामबाट आर.आर. इन्टरनेश्नल अस्पताल निर्माणको तयारी थालेका छन् ।

उद्योगी राजेन्द्र राउतका जेठा छोरा प्रतिक राउतका छोरीको नाम रुद्रांशी राउत हो । उद्योगी राजेन्द्र राउतले आफ्नो नाम र नातिनीको नामबाट आर.आर. इन्टरनेश्नल अस्पताल निर्माण गरेर सञ्चालनमा ल्याउने तयारी थालिएको हो । विराटनगर महानगरपालिका सँग सिमाना जोडिएको धरान विराटनगर सडक खण्ड अन्तर्गत बुढीगंगा गाउँपालिकाको टंकीसिनवारीमा निर्माण गर्न लागिएको अस्पतालको बुधबार शिलान्यास गरिएको छ । उद्योगी राजेन्द्र राउत र उनका नातिनी रुद्रांशी राउतले भव्य समारोहका बिच आर.आर. इन्टरनेश्नल अस्पतालको शिलान्यास गरेको हो ।

शिलान्यास पछि आयोजित पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष राजेन्द्र राउतले एक हप्ता भित्र निर्माण कार्य सुरु भएर ३ वर्षभित्र अस्पताल सञ्चालनमा आइसक्ने जानकारी गराए । अध्यक्ष राउतले भने ३ वर्षभित्र अस्पताल सञ्चालनमा ल्याइसक्ने उद्देश्यका साथ हामी अगाडि बढाएकाछौँ । २ वर्षभित्र अस्पतालको संरचना निर्माण हुनेछ । बाँकी १ वर्षभित्र सम्पूर्ण तयारी पुरा गरेर अस्पताल सञ्चालनमा ल्याइने छ ।

उद्योगी राजेन्द्र राउतका जेठा छोरा आर.आर. इन्टरनेश्नल अस्पतालका निर्देशक प्रतिक राउतले सुरुमा २ सय बेडको अस्पताल निर्माण गरिने छ । पहिलो चरणमा १ सय बेड अस्पताल सञ्चालनमा आउँने छ । दोस्रो चरणमा २ सय बेडको अस्पताल सञ्चालन हुनेछ । त्यसपछि अस्पतालको सम्पूर्ण निर्माण कार्य पुरा भई सकेपछि ३ सय बेडको अस्पताल सञ्चालनमा आउने गरी अगाडि बढेको बताए ।

अस्पतालका अध्यक्ष राउतले मुटुरोगको उपचारलाई प्राथमिकतामा राखेर २४सैं घण्टा इमर्जेन्सी सेवा, जनरल सेवा, मेडिसिन सेवा, न्युरो सर्जरी सेवा, जनरल सर्जरी सेवा, मृगौला रोग, मूत्र रोग, स्त्री तथा प्रसुती रोग, आँखा रोग, नवजात शिशु तथा बाल रोग, हाडजोर्नी तथा नशा रोग लगायत रोगको उपचार सेवा सञ्चालनमा ल्याउने जानकारी गराए ।

बी.एस.सी. नर्सिङ अध्ययनका लागि नेपाली विद्यार्थी विदेशिने क्रम बढ्दो क्रममा रहेकोले आर.आर. इन्टरनेश्नल अस्पतालले त्यसलाई रोक्ने बताए । विराटनगर महानगरपालिका सँग सिमाना जोडिएको बुढीगंगा गाउँपालिका स्थित धरान, विराटनगर सडक खण्ड अन्तर्गत आरती स्ट्रीप्स प्रा.लि.को दक्षिण तर्फ राउत कन्ट्रक्सनको अढाई बिग्घा जग्गाको क्षेत्रफलमा कार्यालय रहेको छ । कार्यालयको अगाडि पट्टिबाट आर.आर. इन्टरनेश्नल अस्पतालको निर्माण कार्य थालिएको छ । पत्रकार सम्मेलनमा शिवम् अर्गनाईजेशनका सदस्य सीमा राउत, प्रतिक राउत र प्रत्यूष राउतको सहभागिता रहेको थियो ।