- चिरफार डटकम, विराटनगर ६२२ पटक हेरिएको
बिहिबार, मंसिर २१, २०८० समय : १३:५५:४२ , १२ महिना अगाडि
आन्तरिक राजश्व कार्यालय विराटनगरले २०८० साल मंसिर २५ गते भित्र प्रथम चौमासिक मूल्य अभिवृद्धिकर बुझाउन उद्योगी व्यवसायीलाई ताकेता गरेको छ । आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत डा. डि.बी. क्षेत्रीले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र विराट व्यापार संघलाई चिठ्ठी पठाएर मंसिर २५ गते भित्र प्रथम चौमासिक मूल्य अभिवृद्धिकर बुझाउने गरी उद्योगी व्यवसायी सँग सहजिकरण गरिदिन ताकेता गरेको हो ।
आन्तरिक राजश्व विभागले आर्थिक वर्ष २०८०/०८१ देखि १ करोड भन्दा कम रुपैयाँको कारोबार गर्ने करदातालाई चौमासिक रुपमा मूल्य अभिवृद्धि कर बुझाउनु पर्ने व्यवस्था गरेको छ । आन्तरिक राजश्व विभागले गरेको व्यवस्था बमोजिम आन्तरिक राजश्व कार्यालय विराटनगरले मोरङमा कार्यालय रहेको ५ वटा उद्योग वाणिज्य संघ संगठनलाई पत्राचार गरेर २०८० साल श्रावण देखि कात्तिक महिनासम्मको प्रथम चौमासिक मूल्य अभिवृद्धि कर मंसिर २५ गते भित्र बुझाउन ताकेता गरेको हो ।