- ब्रह्मदेव यादव, विराटनगर ७०६ पटक हेरिएको
मंगलबार, मंसिर १९, २०८० समय : १६:२१:०८ , १२ महिना अगाडि
आन्तरिक राजश्व कार्यालय विराटनगरले भोला गुटकाको स्टिकर बारे अनुसन्धान सुरु गरेको छ । बुटवलमा उद्योग रहेको भोला गुटकाले मोरङमा गुटका बिक्री गर्दा एक पटक प्रयोग भई सकेको अन्तशुल्कको स्टिकरलाई दोहराएर प्रयोग गर्दै राजश्व छली गरेको आरोप लागेको छ । यस विषयमा अनुसन्धान हुन जरुरी छ ।
आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत डा. डि.बि. क्षेत्रीले भोला गुटकाले दोहराएर प्रयोग गर्ने गरेको अन्तशुल्कको स्टिकर बारे अनुसन्धान भइरहेको बताए । मोरङको धनपालथान गाउँपालिका–४ का सुनिलकुमार राजवंशीले एक पटक प्रयोगमा आइसकेको अन्तशुल्कको स्टिकर बजारबाट संकलन गरेर दोस्रो पटक प्रयोगमा ल्याउने गरी उद्योगमा पठाउने गरेका थिए ।
मोरङ प्रहरीले केही दिन अगाडि राजवंशीको कर्सियास्थित किराना पसलबाट मोटो परिमाणमा अन्तशुल्कको स्टिकर बरामद गरेका थिए । मोरङ प्रहरीद्वारा पक्राउ गरिएका राजवंशीले बजारबाट संकलन गरेको स्टिकर भोला गुटकाको उद्योगमा पठाउने गरेको बयान दिएका छन् । यस बारे थप अनुसन्धान जारी रहेको प्रमुख कर अधिकृत डा. क्षेत्रीले बताए । भोला गुटका उद्योगका सञ्चालक कमल मालपानी सँग समाचारबारे जानकारी लिन सम्पर्क गर्दा वहाँ सम्पर्कमा आउँन चाहनु भएन ।