आन्तरिक राजश्व कार्यालय विराटनगरले तीन उत्कृष्ट करदातालाई सम्मान गर्‍यो 

  • ब्रह्मदेव यादव, विराटनगर ८९०  पटक हेरिएको

बिहिबार, मंसिर ०७, २०८० समय : १६:३४:०४ , १ वर्ष अगाडि

आन्तरिक राजश्व कार्यालय विराटनगरले १२औं राष्ट्रिय कर दिवस एवं कर सप्ताहको समापन समारोहमा बिहीबार तीन उत्कृष्ट करदातालाई सम्मान गरेका छन् । बिहीबार १२औं राष्ट्रिय कर दिवस एवं कर सप्ताहको समापन समारोहमा आन्तरिक राजश्व कार्यालय विराटनगरले आयोजना गरेको कार्यक्रममा आर्थिक वर्ष २०७८/०७९ मा सबै भन्दा बढि कर तिर्ने तीन करदातालाई उत्कृष्ट करदाता घोषणा गर्दै सम्मान गरेको हो ।

कार्यालयले श्री एसजेबीउन अरुण थिर् पावर डेभलपमेन्ट कम्पनी प्रा.लि. का विकाश गर्ग, विराट नर्सिङ होमका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्की र अन्नपूर्णा केवल्स ईण्डष्ट्रिज प्रा.लि.का सहचालकहरू जितेन्द्र राठी र श्याम राठीलाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरेका हुन् । कार्यक्रममा कार्यालयका कम्प्युटर अधिकृत हरि सेढाईलाई उत्कृष्ट कर्मचारी घोषणा गर्दै सम्मान गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि मोरङका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादव र निमित्त कार्यालय प्रमुख कर अधिकृत प्रेम प्रकाश मण्डलले उत्कृष्ट करदाता र उत्कृष्ट कर्मचारीलाई दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गर्दै सम्मान गरेको हो । आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनाली र आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत डा. डि.बि. क्षेत्रीले उत्कृष्ट करदाता र उत्कृष्ट कर्मचारीको सम्मान–पत्रमा हस्ताक्षर गरेका छन् । आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत डा. डि.बि. क्षेत्री आन्तरिक राजश्व विभागद्वारा देशभरीका कार्यालय मध्ये उत्कृष्ट प्रमुख कर अधिकृतको रुपमा छनौट भएर सम्मान–पत्र लिन काठमाडौंमा रहेकोले बिहीबारको कार्यक्रममा सहभागी हुन सकेनन् ।

आन्तरिक राजश्व विभागले देशभरी रहेका आन्तरिक राजश्व कार्यालयहरू मध्ये आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत डा. डि.बि. क्षेत्रीलाई उत्कृष्ट प्रमुख कर अधिकृतको रुपमा घोषणा गर्दै बिहीबार काठमाडौंमा नगद सहित सम्मान पत्रले सम्मान गरेका छन् । कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादव, विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकाल, नेपाल उद्योग परिसंघका केन्द्रिय उपाध्यक्ष तथा कोशी प्रदेश अध्यक्ष भीम घिमिरे, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका नवनिर्वाचित अध्यक्ष तथा संविधान सभा सदस्य पवनकुमार सारडा, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, मोरङ व्यापार संघका उपाध्यक्ष अनिलकुमार साह, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कोषाध्यक्ष सुभाष आचार्य, मोरङका प्रहरी प्रमुख एसपी दिपक पोखरेल, शसस्त्र प्रहरीबल मोरङका प्रमुख एसपी तिर्थ थापा, नेपाल चार्टर एकाउन्टेन्ट संस्था विराटनगर शाखाका अध्यक्ष सीए अश्विनी बंशल, नेपाल चार्टर एकाउन्टेन्ट संघ कोशी प्रदेश अध्यक्ष सीए मनोज अधिकारी अतिथिको रुपमा कार्यक्रममा सहभागिता जनाएका थिए ।

कार्यालयका अधिकृत प्रकाश राई, सुरजकुमार पौडेल, रमणप्रसाद भट्टराई, खड्गबहादुर माझी, भवानी दाहाल र प्रदिप कट्टेल कार्यक्रममा सहभागी रहेका थिए । मंसिर १ गतेदेखि सुरु भएको १२औं राष्ट्रिय कर दिवस एवं करसप्ताह मंसिर ७ गते बिहीबार समापन भएको छ ।