विराटनगरको श्रीकृष्ण गौ सेवा सदन, खर्च ७ लाख आम्दानी २ लाख

  • ब्रह्मदेव यादव, विराटनगर ५९८  पटक हेरिएको

सोमबार, मंसिर ०४, २०८० समय : १४:१८:२८ , १ वर्ष अगाडि

विराटनगरको श्रीकृष्ण गौ सेवा सदनको मासिक खर्च ७ लाख रुपैयाँको हाराहारीमा छ । तर आम्दानी २ लाख रुपैयाँ भन्दा कम छ । विराटनगरका मारवाडी समुदायका अगुवाहरूले बजारबाट नियमित रुपमा सहयोग रकम संकलन गरेर गौ सेवा सदनलाई सञ्चालन गरिरहेका छन् । विराटनगर महानगरपालिकाको वडा नं. १४ स्थित जतुवामा श्रीकृष्ण गौ सेवा सदन सञ्चालनमा रहेका छन् । गौ सेवा सदनमा २ सयको हाराहारीमा गाई र गाईका बाच्छाबाच्छी रहेका छन् । गाईको मासिक खाद्यान्न खर्च र गाईको रेखदेख गर्ने कर्मचारी खर्च बापत मासिक रुपमा ७ लाखको हाराहारीमा खर्च भई रहेको छ ।

गाईको दूध र गोबरबाट उत्पादन भई रहेको जैविक मलको बिक्रीबाट मासिक रुपमा दुई लाख रुपैयाँ आम्दानी हुने गरेको छ । गौ सेवा सदन सञ्चालन गर्न प्रत्येक महिना ५ लाख भन्दा बढि रकम घाटा भई रहेको छ । तर पनि विराटनगरका मारवाडी समुदायका अगुवाहरूले उद्योगी व्यवसायबाट नियमित रुपमा सहयोग रकम संकलन गरेर गौ सेवा सदन सञ्चालनमा जुटेका छन् । गोपाष्टमी महोत्सवको अवसरमा सोमबार गौ सेवा सदनमा आयोजित कार्यक्रममा सदनका अध्यक्ष शंकरलाल अग्रवालले दाताहरूको सहयोगमा गौ सेवा सदन सञ्चालन भई रहेको बताए ।

अध्यक्ष अग्रवालले सदनबाट उत्पादन भई रहेको जैविक मललाई राज्यले उचित मूल्यमा बिक्री वितरणको व्यवस्था मिलाएको खण्डमा सदन आत्मनिर्भर हुने धारणा व्यक्त गरे । सदनले गाई र बाच्छाबाच्छीको गोबरबाट उत्पादन भई रहेको जैविक मल बिक्री वितरण गरी रहेका छन् । सदनले १ केजी, ५ केजी र २५ केजी मलको प्याकेट बिक्री गरी रहेका छन् । प्रत्येक केजी २० रुपैयाँका दरले मल बिक्री हुने गरेको छ ।

गोपाष्टमीको अवसरमा सोमबार गौ सेवा सदनमा आयोजित कार्यक्रममा सदनका अध्यक्ष शंकरलाल अग्रवाल, उपाध्यक्ष नन्दकिशोर राठी, सचिव बेनी गोपाल मुन्दडा, सहसचिव राजकुमार बेनीवाला, कोषाध्यक्ष जगन्नाथप्रसाद खेतान, उद्योगी तथा बरिष्ठ समाजसेवी दिनबन्धु गोयल, मारवाडी सेवा समिति विराटनगरका महासचिव घनश्याम राठी लगायत समाजका विशिष्ट व्यक्तिहरूले गाईलाई घाँस सहित खानाका परिकार खुवाएका थिए ।