१२ औं कर दिवस सुरु, पहिलो करदाता पौडेल सम्मानित

  • चिरफार डटकम, विराटनगर ५६८  पटक हेरिएको

शुक्रबार, मंसिर ०१, २०८० समय : १५:१४:२५ , १ वर्ष अगाडि

आन्तरिक राजश्व कार्यालय विराटनगरले १२औं कर दिवस तथा कर सप्ताह सुरु भएकै दिन शुक्रबार पहिलो करदाता तेजप्रसाद पौडेललाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरेका छन् । विराटनगर महानगरपालिकाको वडा नं. ३ स्थित पुष्पलाल चौकमा सञ्चालित लक्की ट्रेडर्सका सञ्चालक पौडेलले चालु आर्थिक वर्ष २०८०/०८१ को असोज महिनाको मूल्य अभिवृद्धि कर वापत २ लाख २१ हजार ७ सय ५ रुपैयाँ कर तिरेका छन् ।

आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत डा. डि.बि. क्षेत्रीले कर सप्ताह सुरु भएकै दिन पौडेललाई उत्कृष्ट करदाता घोषणा गर्दै सम्मान गरेको हो । प्रमुख कर अधिकृत डा. क्षेत्री र कार्यालयका कर्मचारीहरूले पौडेललाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्दै उत्कृष्ट करदाताको रुपमा सम्मान गरेको हो । आन्तरिक राजश्व कार्यालय विराटनगरले करदाता सेवा कार्यालय पथरी सँगको सहकार्यमा मंसिर ५ गते मोरङको मिक्लाजुङ गाउँपालिकाको मधुमल्ला बजारमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।

कार्यालयले नेपाल चार्टर एकाउन्टेन्ट संस्था मोरङ सँगको सहकार्यमा मंसिर ६ गते विराटनगरमा करदाता तथा अन्तरक्रिया कार्यक्रम गर्ने तयारी गरेको छ । नेपाल चार्टर एकाउन्टेन्ट संस्था मोरङका अध्यक्ष सीए अश्विनी बंशल सँग सरसल्लाह गरेर आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत डा. क्षेत्रीले करदाता शिक्षा तथा छलफल कार्यक्रम आयोजना गर्न लागेको हो ।

मंसिर ७ गते कर सप्ताहको समापन समारोहमा कार्यालयले उत्कृष्ट करदाता र उत्कृष्ट कर्मचारीलाई सम्मान गर्ने कार्यक्रम रहेको कार्यालय प्रमुख डा. क्षेत्रीले बताए । मोरङका प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादवलाई कर सप्ताह समापन समारोहमा प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएको छ ।