- ब्रह्मदेव यादव, विराटनगर ९८२ पटक हेरिएको
सोमबार, कार्तिक ०६, २०८० समय : १४:२३:२१ , १ वर्ष अगाडि
विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्र राज ढकालले भन्सार अधिकृत जगदिश पूर्वेलाई राजश्व अपचलन गरेको अभियोग लगाएर कारवाही गरेको छ । विजया दशमीको मुखमा दोस्रो तथा तेस्रो देशबाट विराटनगर भन्सार कार्यालयबाट चेकजाँच पास भएर भित्रिएको सामानमा ९ लाख भन्दा बढि रुपैयाँ राजश्व अपचलन गरेको अभियोगमा प्रमुख भन्सार अधिकृत ढकालले भन्सार अधिकृत पूर्वेलाई कारवाही गरेको हो ।
भन्सार अधिकृत पूर्वेको तोक आदेशमा विराटनगर भन्सार कार्यालयबाट चेक जाँच पास भएर छुटिसकेको सामानलाई पुनः नियन्त्रणमा लिएर प्रमुख भन्सार अधिकृत ढकालले थप ९ लाख रुपैयाँ राजश्व तिर्न लगाएर सामान छोडेका थिए । ९ लाख रुपैयाँ राजश्व अपचलन गरेको अभियोग लगाउँदै ढकालले पूर्वेलाई सुरुमा १५ दिनका लागि पूर्वेले काम गर्दाको अवस्थामा प्रयोग गर्ने आइडी बन्द गरेर जगेडामा राखेका थिए ।
१५ दिन पछि आइडी खोल्ने दिन भन्सार विभागसँग सहकार्य गरेर ढकालले पुर्वेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा काज सरुवा गरेका छन् । विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ढकालले भन्सार विभागका महानिर्देशकलाई जे भन्दा त्यही कुरा चल्ने भएकोले पुर्वेलाई विराटनगर भन्सार कार्यालयबाट कारवाही गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा काज सरुवा गरेको हो ।