बचतकर्ताको ९ करोड रुपैयाँ लिएर माछापुच्छ्रे सहकारका ४ संचालक फरार 

  • ब्रह्मदेव यादव, विराटनगर ७५९  पटक हेरिएको

मंगलबार, आश्विन २३, २०८० समय : १५:३५:१३ , १ वर्ष अगाडि

विराटनगरको माछापुच्छ्रे सहकारी संस्थाका ४ जना संचालक ६ सय बचत कर्ताको ९ करोड भन्दा बढि रुपैयाँ लिएर फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले सहकारीका संचालकबाट ठगिएका बचत कर्ताको निवेदन लिन अस्वीकार गरेका छन् । विराटनगरको शनिमन्दिर रोडमा केन्द्रिय कार्यालय रहेको माछापुच्छ्रे सहकारी संस्थाका संचालक संजय थापा (प्रभाकर) अमित कार्की, अमलेशकुमार कर्ण र राधादेवी लिम्बू फरार सूचीमा रहेका छन् ।

दुई महिनाभन्दा बढि समयदेखि सहकारीको केन्द्रिय कार्यालय पूर्ण रुपमा बन्द रहेका छन् । प्रदेश रजिष्टार कार्यालय सुनसरीले माछापुच्छ्रे सहकारीका ४ मध्ये ३ संचालकको सम्पत्ति रोक्का गरेका छन् । तर एक जना संचालक संजय थापा नेपाली कांग्रेस निकट नेपाल तरुण दलको उच्च पदमा कार्यरत रहेकोले उनको सम्पत्ति रोक्का गरेका छैनन् । माछापुच्छ्रे सहकारीका संचालक संजय थापाले १ करोड ६० लाख, अमित कार्कीले ४ करोड ७३ लाख, अमलेश कुमार कर्णले १ करोड ४७ लाख र राधादेवी लिम्बुले १ करोड ४४ लाख रुपैयाँ हिनामिना गरेका छन् । राधादेवी लिम्बू सहकारीका कोषाध्यक्ष हुन् ।

विराटनगर महानगरपालिका सहित मोरङको बुढीगंगा गाउँपालिकाको केही वडा मात्र सहकारीले बचत कर्ताबाट रकम संकलन गर्ने अख्तियारी प्राप्त गरेका छन् । तर सहकारी ऐन विपरीत सहकारीका संचालकले विराट चौकबाट समेत ६० लाखभन्दा बढि रुपैयाँ संकलन गरेका छन् । विराट चौकबाट रकम संकलन गर्ने सहकारीका कर्मचारी मोहनराज दाहाल र टिकाराज दाहाल विगत केही समयदेखि फरार सूचीमा रहेका छन् । दुवै जना श्रीमान् श्रीमती हुन् । बचत कर्ताहरूले बचत गरेको रकम पाउनु पर्ने माग गर्दै मंगलबार विराटनगरमा शक्ति प्रदर्शन सहित पत्रकार सम्मेलन गरेका छन् । पीडित बचत कर्ताहरू जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि संघर्षका कार्यक्रम संचालन गर्ने घोषणा गरेका छन् ।