मोरङ लेटाङका घनश्याम खतिवडा एमालेको कोशी प्रदेश अध्यक्ष 

  • ब्रह्मदेव यादव, विराटनगर ४५३  पटक हेरिएको

मंगलबार, आश्विन १६, २०८० समय : १४:३३:४९ , १ वर्ष अगाडि

मोरङ लेटाङका घनश्याम खतिवडा, नेकपा एमालेको कोशी प्रदेश अध्यक्ष पदमा निर्वाचित भएका छन् । एमाले कोशी प्रदेशको प्रथम अधिवेशनमा विराटनगरका विनोद ढकाललाई झिनो मतको अन्तरले पराजित गर्दै खतिवडा अध्यक्ष पदमा निर्वाचित भएको हो । असोज १२ गते शुक्रबारदेखि विराटनगरमा सुरु भएको एमालेको प्रथम कोशी अधिवेशनको नतिजा असोज १५ गते सोमबार राती सार्वजनिक गरिएको छ । नवनिर्वाचित अध्यक्ष खतिवडाले ५१२ मत प्राप्त गरेका थिए । ४३० मत प्राप्त गरी ८२ मतको अन्तरले ढकाल अध्यक्ष पदमा पराजित भएका हुन् ।

९९७ मतदाता रहेको अधिवेशनमा ९७७ मत खसेको थियो । २० जना मतदाता अधिवेशनमा सहभागि भएन । २०६६ सालमा नेकपा एमाले मोरङको जिल्ला अधिवेशनमा ढकालसँग खतिवडा अध्यक्ष पदमा पराजित भएका थिए । १४ वर्षपछि कोशी प्रदेश अधिवेशनमा अध्यक्ष पदमा जित निकाल्दै खतिवडाले ढकाल सँग पहिलाको हारको बदला लिएको छ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई पराजित गर्न पार्टीका केन्द्रिय सचिवदेखि स्थायी समिति सदस्य, केन्द्रिय समिति सदस्य, कोशी प्रदेशका बहालवाला मुख्यमन्त्री र पूर्व मुख्यमन्त्रीलाई परिचालन गरेका थिए ।

एमालेका केन्द्रिय सचिव तथा कोशी प्रदेश इन्चार्ज रघुविर महासेठ, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा स्थायी समिति सदस्य शेरधन राई, ६ जना स्थायी समिति सदस्य र ४१ जना केन्द्रिय सदस्यलाई खुलेआम अधिवेशनमा परिचालन गरेर प्रतिनिधिलाई घेराबन्दी गरेका थिए । ढकालको पक्षमा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री भीम आचार्य मात्रै खुलेर लागेका थिए ।

एमालेको कोशी प्रदेश अधिवेशन सकिए लगत्तै ढकाल पक्ष ओली समूहसँग आक्रमक देखिएका छन् । अधिवेशनबाट टिकाराम चेम्जोङ उपाध्यक्ष, राजकुमार भण्डारी सचिव तथा देवान राई र जलवर्षा राजवंशी उपसचिवमा निर्वाचित भएका छन् । अधिवेशनले ५ पदाधिकारी सहित २१५ जना सदस्य निर्वाचित गरेका छन् ।