- ब्रह्मदेव यादव, विराटनगर ५८६ पटक हेरिएको
आइतबार, आश्विन ०७, २०८० समय : १४:००:१४ , १ वर्ष अगाडि
नेपाल सरकारको गृह मन्त्रालयले सोमबार विराटनगरमा कोशी प्रदेश स्तरीय सुरक्षा सम्बन्धी बैठकको आयोजना गर्दैछ । पछिल्लो समय कोशी प्रदेशमा प्रहरी माथि सुरक्षा चुनौती थपिएकोले गृह मन्त्रालयको आयोजनामा विराटनगरमा सुरक्षा सम्बन्धी बैठकको आवहान गरेको हो । नेपाल सरकारका गृहमन्त्री नारायण काजी श्रेष्ठ, गृह सचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर सहित नेपाली सेना र सशस्त्र प्रहरीका कोशी प्रदेश स्तरीय उच्च पदस्थ प्रहरी पदाधिकारीको सहभागिता रहने छ ।
बैठकमा कोशी प्रदेश स्तरीय विभिन्न राजनैतिक दलका नेतादेखि नागरिक समाजका प्रबुद्ध वर्गका व्यक्तिहरूलाई सहभागिताको लागि पत्राचार गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवले बताए । सोमबार अपरान्ह १२ः३० बजे विराटनगरको बिग होटलमा सुरक्षा सम्बन्धी बैठकको शुभारम्भ हुने छन् । केही समय बैठकको उद्घाटन समारोह चल्ने छ । लगत्तै कोशी प्रदेशमा देखिएको सुरक्षा सम्बन्धी विषयमा बैठकमा गहन रुपमा छलफल हुने प्रजिअ यादवले बताए । पछिल्लो समय कोशी प्रदेशमा प्रहरी माथि सुरक्षा चुनौती थपिएको छ ।
सुनसरीमा सामूहिक लुटेरा समूहले बाटो हिड्ने सर्वसाधारणलाई हतियार देखाएर लुटपाट गर्न थालेका छन् । विराटनगर महानगरपालिका सँग सिमाना जोडिएको सुनसरीको बर्जू गाउँपालिकामा ड्युटीमा रहेका प्रहरीको लुटेरा समूहद्वारा हतियार लुटिएका छन् । दिन दिनै लुटेरा समूहले सर्वसाधारणलाई लुटपाट गर्ने क्रम बढ्दो छ । यस्तो अवस्थामा प्रहरी माथि सुरक्षा चुनौती थपिएकोले गृह मन्त्रालयले कोशी प्रदेश स्तरीय विराटनगरमा सुरक्षा सम्बन्धी बैठक गर्न लागेको हो ।