विराटनगर भन्सार कार्यालयको मुख्य नाकाबाट हुन्डी रकम ओहोर–दोहोर

  • ब्रह्मदेव यादव, विराटनगर ६३८  पटक हेरिएको

शुक्रबार, आश्विन ०५, २०८० समय : १५:३१:०९ , १ वर्ष अगाडि

विराटनगर भन्सार कार्यालयको मुख्य नाकाबाट अवैध रुपमा हुन्डी रकम ओहोर–दोहोर भई रहेको छ । नेपाल भारतको अन्तर्राष्ट्रिय सिमा नाकाबाट अवैध रुपमा हुन्डी रकम ओहोर–दोहोर हुने गरेको भन्सार कार्यालय निकट समाचार सूत्रले दावी गरेको छ । जसका लागि प्रत्येक दिन २५ भन्दा बढि मोटरसाइकल र स्कुटी परिचालन भई रहेको समाचार सूत्रको दावी छ ।

भारतबाट नेपाली रुपैयाँ नेपाल भित्र्याउन र नेपालबाट भारतीय रुपैयाँ भारत पठाउन हुन्डी कारोबारीले मोटरसाइकल र स्कुटीमा आफ्ना कर्मचारी परिचालन गरिरहेका छन् । नेपाल भारतको सीमान्त क्षेत्र जोगबनी बजारमा प्रत्येक दिन कडोरौँ नेपाली रुपैयाँको कारोबार हुने गरेका छन् । जोगबनी बजारमा अधिकांश नेपालीको पसल रहेको छ । र उनीहरूले प्रत्येक दिन बिक्री गर्ने गरेको सामानको मोटो नेपाली रुपैयाँ हुन्डी कारोबारी मार्फत पुनः विराटनगर भित्र्याइ रहेका छन् ।

सीमान्त क्षेत्रबाट यसरी हुने गरेको हुन्डी कारोबारमा सशस्त्र र जनपथ प्रहरीको प्रत्यक्ष संलग्नता रहेको समाचार सूत्रले जानकारी गराएको छ । सरकारले अन्तर्राष्ट्रिय सिमा नाकाको शान्ति सुरक्षाको जिम्मा सशस्त्र र जनपथ प्रहरीलाई सुम्पिएको छ । रानी नाकाबाट नेपाल र भारत ओहोर दोहोर गर्ने हुन्डी कारोबारी सँग यी दुवै प्रहरी सङ्गठनका उच्च पदस्थ कर्मचारीको संलग्नता रहेकोले निर्वाध रुपमा हुन्डी कारोबारीहरूले आफ्ना व्यवसायी सञ्चालन गरिरहेका छन् ।

विराटनगरमा मोटो रकमको कारोबार गर्ने उद्योगी र व्यवसायीहरूले नेपाली रुपैयाँ भारत पठाउनका लागि हुन्डी मार्फत नै कारोबार गर्ने गरेका छन् । विराटनगरका अधिकांश व्यवसायीले भारतबाट मोटो परिणाममा सामान ल्याउने र त्यसको भुक्तानी हुन्डी मार्फत गर्ने गरेकोले पछिल्लो समय हुन्डी कारोबार फस्टाएको छ ।