- ब्रह्मदेव यादव, विराटनगर ५२१ पटक हेरिएको
सोमबार, आश्विन ०१, २०८० समय : १८:४४:५१ , १ वर्ष अगाडि
पहिचान पक्षधरको आन्दोलनलाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरको ५ ठाउँमा २ महिनासम्मको लागि निषेधाज्ञा लागू गरेको छ । कोशी प्रदेश नामकरण विरुद्ध असन्तुष्ट पहिचान पक्षधरले मंगलबार विराटनगरमा वृहत रुपमा मोटरसाइकल र्याली निकाल्न लागेको अवस्थामा मोरङ प्रशासनले सोमबारदेखि नै विराटनगरको ५ ठाउँमा निषेधाज्ञा लागू गरेको छ ।
कोशी प्रदेश सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले र राप्रपा बाहेक ४ दलीय गठबन्धले पहिचान पक्षधर आन्दोलनलाई समर्थन गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपाल पहिचान पक्षधर आन्दोलनको पक्षमा छ । र उनीहरु पहिचान पक्षधरले कोशी प्रदेश नामाकरण सच्याउनु पर्ने बुलन्द गरेको आवाजलाई साथ दिई रहेका छन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवले कोशी प्रदेश सभा, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय कोशी प्रदेश, मुख्यमन्त्रीको निवास, प्रदेश प्रमुखको कार्यालय तथा निवास र जिल्ला प्रशासन कार्यालय मोरङको ३ सय मिटर आसपास क्षेत्रमा निषेधाज्ञा लागू गरेको बताए । सोमबार चिरफार डटकम सँग कुरा गर्दै मोरङका प्रमुख जिल्ला अधिकारी यादवले संविधानले प्रत्यायोजन गरेको अधिकारको समय सिमा भित्र रहेर आन्दोलन गर्न पहिचान पक्षधर आग्रह गरेको छ ।