प्रहरीले नै चोरीको मोटरसाइकल कुदाउँछ 

  • ब्रह्मदेव यादव, विराटनगर ४९९  पटक हेरिएको

बुधबार, भाद्र २७, २०८० समय : १३:४४:२८ , १ वर्ष अगाडि

सत्य सेवा सुरक्षणम्को नारा दिएको नेपाल प्रहरीका अधिकृत नै चोरीको मोटरसाइकल कुदाउने गरेको तथ्य बाहिरिएको छ । नेपाल प्रहरी भित्र चोरीको सवारी साधन कुदाउनेको संख्या धेरै नै छ । नेपाल प्रहरीको कोशी प्रदेश मुख्यालय रानी विराटनगरको गणमा कार्यरत वरिष्ठ प्रहरी नायब निरीक्षक (लेखापाल) लक्ष्मण महतराले दुई वर्षभन्दा बढि समयदेखि चोरीको मोटरसाइकल कुदाई रहेकोले निजलाई कारवाही गर्न नेपाल प्रहरीको सर्वोच्च निकाय प्रहरी प्रधान कार्यालय काठमाडौंमा उजुरी परेको छ । महतराले प्रदेश नं. १–०१–०१३ प ७०२२ नम्बरको मोटरसाइकल चढ्ने गरेको प्रहरी प्रधान कार्यालय काठमाडौंमा साउन २१ गते बेनामे उजुरी परेको थियो ।

प्रहरी प्रधान कार्यालयले चोरीको मोटरसाइकल कुदाउने महतरालाई कारवाही गर्न कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई पत्राचार गरेको हो । कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले चोरीको मोटरसाइकल कुदाउने महतराको विषयमा छानविन गर्न कोशी प्रदेश प्रहरी कार्यालयमा कार्यरत डीएसपी बुद्ध श्रेष्ठको संयोजकमा छानविन समिति गठन गरेका छन् ।

डीएसपी श्रेष्ठ संयोजकको छानविन समितिले चोरीको मोटरसाइकल कुदाउने महतराको बारेमा छानविन भई रहेको डिआइजी बास्तोलाले बताए । प्रहरीको सर्च अप्रेसनको क्रममा पक्राउ पर्ने गरेको चोरीका मोटरसाइकल प्रहरी कार्यालयमा राख्ने प्रचलन छ । त्यसमा पनि नयाँ मोटरसाइकल माथि प्रहरीको आँखा लाग्ने गरेकोले प्रहरीका सिनियर अधिकृतदेखि कनिष्ट जवानसम्मले चोरीको मोटरसाइकल कुदाउने गरेको आरोप प्रहरी माथि लाग्ने गरेको छ ।