विराटनगर भन्सार कार्यालयमा कर्मचारी संगठनको चन्दा आतंक

  • ब्रह्मदेव यादव, विराटनगर ५४९  पटक हेरिएको

मंगलबार, भाद्र १९, २०८० समय : १७:४३:१२ , १ वर्ष अगाडि

विराटनगर भन्सार कार्यालयमा नेपाल निजामती कर्मचारी संगठनले चन्दा आतंक श्रृजना गरेको छ । नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय कार्यसमिति बबरमहल काठमाडौंले उपहार कार्यक्रम २०८० को नाममा विराटनगर भन्सार कार्यालयमा चन्दा आतंक श्रृजना गरेको हो । नेपाल निजामती कर्मचारी संगठन निकट विराटनगर भन्सार कार्यालयमा कार्यरत उच्चपदस्थ भन्सार अधिकृत र नायब सुब्बा (जाँचकी) को टोलीले एक जना भन्सार एजेन्टलाई २०० रुपैयाँ दरका २५ टिकट रहेको १ थान बुक भिडाउन थालेका छन् । जुन ५ हजार रुपैयाँ बराबरको टिकट बुक हो ।

विराटनगर भन्सार कार्यालयमा भन्सार एजेन्ट, उद्योग प्रतिनिधि र भन्सार सहयोगी गरेर २०० भन्दा बढि एजेन्ट रहेका छन् । सबै एजेन्टहरुलाई १ बुक भिडाउने गरेको छ । भन्सार एजेन्ट मात्रै होइन एजेन्ट मार्फत विराटनगर भन्सार कार्यालयबाट सामान आयात निर्यात गरिरहेका उद्योगी व्यवसायीलाई समेत १ थान बुक भिडाउन थालेको हो ।

विराटनगर भन्सार कार्यालयमा मात्रै नेपाल निजामती कर्मचारी संगठनको केन्द्रिय कार्यालयले २० लाख भन्दा बढि रकम बराबरको टिकट बुक भिडाएका छन् । जसका कारण भन्सार एजेन्ट, उद्योगी तथा व्यवसायीहरुमा आतंकको अवस्था श्रृजना भएको छ । विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकालको क्रियाकलापबाट यस अघि नै आतंकीत रहेका भन्सार एजेन्ट र उद्योगी तथा व्यवसायी नेपाल निजामती कर्मचारी संगठनको चन्दा आतंकबाट थप आतंकीत हुन पुगेका छन् ।

भन्सार एजेन्ट र उद्योगी तथा व्यवासयीहरुले नेपाल निजामती कर्मचारी संगठनको नाममा जारी चन्दा आतंक अविलम्ब बन्द गर्न माग गरेका छन् । विराटनगर भन्सार प्रशासनले निजामती कर्मचारी संगठनको नामबाट जारी चन्दा आतंकबारे कुनै प्रतिक्रिया दिन मानेनन् ।