- ब्रह्मदेव यादव, विराटनगर ५२६ पटक हेरिएको
आइतबार, भाद्र ०३, २०८० समय : २१:०२:५३ , १ वर्ष अगाडि
कोशी प्रदेश सरकारले विराटनगरमा २५ बेडको डेंगु रोग उपचार केन्द्र संचालनमा ल्याएको छ । विराटनगर महानगरपालिकाको वडा नं. १० स्थित धरान–विराटनगर सडक खण्डको मलायारोडमा रहेको पूर्व कोभिड–१९ उपचार केन्द्रलाई कोशी प्रदेश सरकारले डेंगु रोग उपचार केन्द्रमा परिणत गरेको हो । शेरधन राईले कोशी प्रदेश सरकारको पहिलो मुख्यमन्त्रीको रुपमा काम गरीरहदा विराटनगरको निजी क्षेत्रले मोटो रकम खर्चेर नेशनल ट्रेडिंग कर्पोरेशनको दुई ठुला गोदामलाई मर्मत सम्भारपछि कोभिड–१९ अस्पताल निर्माण गरेका थिए ।
मोरङ व्यापार संघका पूर्वअध्यक्ष पवन सारडा संयोजक रहेको कोभिड–१९ अस्पताल निर्माण समितिले ८ करोड भन्दा बढि रुपैयाँ खर्चेर अस्पताल निर्माण गरेका थिए । त्यही सुविधा सम्पन्न अस्पताललाई कोशी प्रदेश सरकारले डेंगु रोग उपचार केन्द्रको नामबाट संचालनमा ल्याएको छ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा र स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले आइतबार डेंगु रोग उपचार केन्द्रको उद्घाटन गरेका छन् ।
मुख्यमन्त्री उद्धव थापा स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बु र स्वास्थ्य सचिव डा. सुधा देवकोटाको पहलमा आइतबारदेखि नै डेंगु रोग उपचार केन्द्र संचालनमा आएको छ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सुनसरीको धरानमा डेंगु रोग महामारीको रुपमा खेलिएकोले त्यसको रोकथाम र सहज तथा सरल तरिकाले उपचार प्रदान गर्ने उद्देश्यका साथ विराटनगरमा डेंगु रोग उपचार केन्द्र संचालनमा ल्याएको बताए । कोशी प्रदेशका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले विरामीको आवश्यकता अनुसार दक्ष चिकित्सक परिचालन गर्ने तयारी भई रहेको बताए ।