- ब्रह्मदेव यादव, विराटनगर ८७४ पटक हेरिएको
आइतबार, भाद्र ०३, २०८० समय : १६:४३:५७ , १ वर्ष अगाडि
श्री राधाकृष्ण रथयात्रामा सहभागिता जनाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह विराटनगर आउँदै छन् । श्री कृष्ण जन्माष्टमीको भोली पल्ट भाद्र २१ गते विराटनगरमा श्री राधाकृष्ण रथयात्रा निकालिने भव्य तयारी थालिएको छ । विराटनगरको ऐतिहासिक रथयात्रालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन यस वर्ष नेपाल र भारतका स्थानिय तहका जनप्रतिनिधिहरुलाई रथयात्रामा सहभागिता गराउने विराटनगर महानगरपालिकाले जिम्मेवारी लिएको छ ।
विराटनगर महानगरपालिकाको निम्तोमा नेपालका २४ स्थानिय तहका जनप्रतिनिधि र भारतका ७ सहरका मेयर विराटनगर आउँदै छन् । विराटनगर महानगरपालिकाले भाद्र २१ गते विराटनगरमा नेपाल च्याप्टरको सिटी नेट कार्यक्रम आयोजना गर्न लागेको छ । विराटनगर महानगरपालिकाले नेपाल च्याप्टरको सिटी नेट कार्यक्रम अन्तर्गत ढल, फोहोर, बिजुली लगायतको विषयमा नेपाल र भारतका मेयरहरुले छलफल गर्ने कार्यक्रम रहेको छ । काठमाडौं महानगरपालिकाका मेयर भईसकेपछि पहिलो पटक बालेन शाह विराटनगर आउँन लागेको हो । विराटनगर आउँन लागेका बालेनलाई भेट्न हेर्न र फोटो खिचाउन लाखौं विराटनगरवासी सडकमा उत्रिने भएकोले मोरङ प्रहरीलाई सुरक्षा व्यवस्था मिलाउन हम्मेहम्मे पर्नेछ ।
काठमाडौंमा मछिन्द्र जात्रा निक्सिदा जात्रामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपतिकै हैसियतमा जात्रामा सहभागिता जनाउँदा उनको पछाडी न्यून संख्यामा सर्वसाधारण हिडिरहेको र काठमाडौका मेयर बालेन शाह जात्रामा सहभागि भएर हिडिरहदा लाखौं काठमाडौंवासी सहभागिता जनाएकोले विराटनगरमा पनि सोही संख्यामा बालेनको पछि विराटनगरवासी हिड्ने भएकोले मोरङ प्रहरी माथि सुरक्षा चुनौती थपिएको हो । राधाकृष्ण रथयात्रा समितिका अध्यक्ष कैलाश रेग्मीले मेयर बालेन शाह २० गते बुधबार विराटनगर आइपुग्ने छन् । २१ गते बिहीबार बालेन विराटनगर महानगरपालिकाको कार्यक्रममा सहभागिता जनाउने छन् । र सोही दिन ३ बजेपछि राधाकृष्ण रथयात्रामा सहभागिता जनाउने कार्यक्रम रहेको अध्यक्ष रेग्मीले बताए ।
बालेन सहित नेपालका २४ र भारतका ७ शहरका मेयरहरु केही समय रथयात्रामा हिड्ने र त्यसपछि विराटनगरको रोडशेष चौकस्थित कुनै १ होटलको छतबाट विराटनगरको राधाकृष्ण रथयात्राको झाँकीको दृष्य अवलोकन गराउने कार्यक्रम रहेको रेग्मीले बताए । विराटनगरको तीनपैनीस्थित श्री राधाकृष्ण मन्दिरबाट निस्कने रथयात्रा रोडशेष चौक भएर बरगाछी हुँदै पुनः मन्दिरमै पुगेर समापन हुनेछ ।