भाद्र २१ गते विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको रथयात्रा निकालिने तयारी

  • ब्रह्मदेव यादव, विराटनगर ८५५  पटक हेरिएको

शुक्रबार, भाद्र ०१, २०८० समय : १७:२१:०३ , १ वर्ष अगाडि

भाद्र २१ गते विहीबार विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको श्री राधाकृष्ण रथयात्रा निकालिने तयारी सुरु भएको छ । श्री राधाकृष्ण मन्दिर समितिले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरेर भव्य एवं ऐतिहासिक रुपमा अन्तर्राष्ट्रिय स्तरको रथयात्रा निकाल्ने तयारी थालिएको जानकारी गराएको छ । समितिका अध्यक्ष कैलाश रेग्मीले कोभिड–१९ महामारिको कारण केही वर्षदेखि सामान्य रुपमा निकालिने गरेको श्री राधाकृष्ण रथयात्रालाई यस वर्ष भव्य एवं ऐतिहासिक रुपमा निकालिने गरी तयारी थालिएको बताए ।

यस वर्षको रथयात्रामा विराटनगर महानगरपालिकाले सहकार्य गर्ने भएको छ । विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले विराटनगरको श्री राधाकृष्ण रथयात्रालाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने गरी देश विदेशका जनप्रतिनिधि सहित विशिष्ट व्यक्तिहरुलाई आमन्त्रण गरिएको अध्यक्ष रेग्मीले बताए । नेपालको ३ तहकै सरकारका जनप्रतिनिधिदेखि छिमेकी राष्ट्र भारतका विभिन्न मठमन्दिरका पिठाधिसहरुलाई रथयात्रामा सहभागि गराउने तयारी भई रहेको अध्यक्ष रेग्मीले बताए । अध्यक्ष रेग्मीले रथयात्राको रुट लामो तय गरिएकोले १ घण्टा अगाडी नै रथयात्रा निकाल्ने बताए । प्रत्येक वर्ष कृष्णजन्माष्टमीको भोली पल्ट ४ बजे निकालिने रथ यात्रालाई यसवर्ष ३ बजेनै निकालिने भएको छ ।

मन्दिरका पदाधिकारी तथा नेपाली कांग्रेसका युवा नेता कृष्ण कार्कीले विराटनगर–१ स्थित पानीटंकीबाट निस्कने रथ रोडशेष चोक भएर बरगाछी हुँदै पुनः पानीटंकीको राधाकृष्ण मन्दिरको प्राङ्गणमा पुगेर समापन हुने छ । पत्रकार सम्मेलनमा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप साह, मोरङका प्रहरी प्रमुख एसपी दिपक पोखरेल, सशस्त्र प्रहरीका एसपी तिर्थ थापा, मन्दिर समितिका उपाध्यक्ष नन्दकिशोर राठी, कोषाध्यक्ष बजरंग बाहेती, उद्योगी तथा समाजसेवी चम्पालाल राठी, विराटनगर–१ का वडाध्यक्ष काजी बस्नेत र २ नं. वडाध्यक्ष कुमार पोखरेलको सहभागिता रहेको थियो । रथयात्रालाई भव्य एवं एतिहासिक रुपमा सम्पन्न गर्न ५०१ सदस्यीय मुल समारोह समिति गठन गर्ने निर्णय भएको छ ।

आनन्द जाजुलाई रथ तथा मन्दिर श्रृङ्गार उपसमितिको संयोजक, दिपक प्रधानलाई प्राविधिक उपसमितिको संयोजक, प.भवानी शंकर निरौलालाई ब्राह्मण व्यवस्थापन उपसमितिको संयोजक, मीना जोशीलाई प्राथमिक उपचार उपसमितिको संयोजक, मोहन भट्टराईलाई सुपरिवेक्षण उपसमितिको संयोजक, सुरेश जायसवाललाई रथ संचालन तथा झाँकी व्यवस्थापन उपसमितिको संयोजक, सन्तोष महत (सेन्ट्रो) लाई पुरुष स्वयम सेवक उपसमितिको संयोजक र विकास जि.सी.लाई सहसंयोजक, अन्जना थापालाई महिला स्वयम सेविका उपसमितिको संयोजक र अंजु गुप्तालाई सहसंयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।
नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष संजिव खनाललाई प्रचार प्रसार उपसमितिको संयोजक र पत्रकार नविनचन्द कर्णलाई सहसंयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।