कविता- मेरो देश

  • डिक्सन श्रेष्ठ, विराटनगर १२७६  पटक हेरिएको

बिहिबार, साउन ३२, २०८० समय : १८:१६:४४ , १ वर्ष अगाडि

के छैन मेरो देशमा?
भगवान गौतम बुद्वको पाउ छ,
विश्वशान्ती फैलाएको त्यो नाँउ छ ।
वीर बलभद्र, अमरसिंह र
भक्ति थापाहरूको साहस छ,
महर्षि वेदब्यास र सप्तऋषिहरूको
असिमित शुभाष छ ।

ती वीर शहिदहरूको
पसिना र रगत छन्,
ज्यानको बाजी लगाउँदा
बसेका ती टाटा अनि खत छन् ।
विश्वशीर सगरमाथा छ,
वीरहरूको अमर ती गाथा छ,
लोभलाग्दो जैविक विविधता छ,
अनेकतामा एकता छ ।

हिमाल,पहाड अनि तराई
लेकका ती चौरी गाईहरू,
गाउका ती मौलिक लवाई-खवाईहरू,
शहरका ती हिँडाई अनि बोलाईहरू;
आहा!!
मरेपछिको स्वर्ग छ या छैन,
त्यो त थाहा छैन मलाई,
ज्युदै स्वर्ग छ मेरो देश ।।

छैन त केबल!!

गरिबका लागि समाउने हात छैन,
चैनको एक दिन अनी रात छैन ।
जिउँदा ऐशले पल्टिन खाट छैन,
जाबो एक थान शरीर जलाउने मसानघाट छैन ।

नेपाल आमा र मेरो देश
विक्षिप्त भई रूदै गर्दा
आँसु पुछ्ने रूमाल छैन,
छिमेकिले रातारात
सीमानाको पर्खाल सार्दा
ठूल्दाईहरूलाई-
कुनेै चाल छैन!
कुनै बाल छैन !

देशको अस्मिता लुटिँदा,
सीमानामा हाम्रा दाजुभाइ कुटिँदा,
मेरो देशको जितमा पनि उसको हार नहुँदा,
दिनदहाँडै मेरो देशमाथी बलात्कार हुँदा!
कहिले सम्म?
आखिर कहिले सम्म?
कानमा तेल हालेर बस्ने???

बिन्ती छ!
हे युवा!
उठ!
जुरूक्क!
जाग!
जुर्मुराउदै!
ती ज्यानको बाजी लगाएर-
स्वाधीनताको लागि।
स्वाभिमानको लागि ।
जन्मभूमिको रक्षाको लागि ।
नेपाल आमाको लागि ।
मेरो देश!
हाम्रो देश!
नेपालको लागि ।।।