- चिरफार डटकम, विराटनगर १०३१ पटक हेरिएको
आइतबार, साउन २१, २०८० समय : १७:०६:१२ , १ वर्ष अगाडि
हुलाकी सडकमार्ग निर्माणको माग गर्दै नागरिक संघर्ष समितिको नामबाट विराटनगरमा अनिश्चितकालीन धर्ना कार्यक्रम सञ्चालन भईरहेका छन् । नागरिक संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी आइतबारदेखि अनिश्चितकालीन शान्तिपूर्ण धर्ना कार्यक्रम संचालनमा ल्याएका छन् । हुलाकी सडक मार्ग निर्माणको वातावरण तयार नभएसम्म आन्दोलनलाई निरन्तरता दिने धर्नामा सहभागी कटहरी उद्योग वाणिज्य संघ कटहरीका अध्यक्ष एवं युवा व्यवसायी अरविन्द शर्माले बताए ।
विराटनगर महानगरपालिका संग सिमाना जोडिएको कटहरी गाउँपालिकाको सिंघिया नदिदेखि झापासंग सिमाना जोडिएको रतुवामाई नगरपालिका सम्मको सडक खण्ड हुलाकी सडक मार्ग अन्तर्गत पर्दछ । जसमध्ये रंगेली नगरपालिकादेखि सुनवर्षी हुँदै रतुवामाई नगरापलिकासम्मको सडक मार्ग छिटफुट बाहेक कालोपत्रे भई सकेका छन् । तर सिंघिया नदिदेखि रंगेलीसम्मको सडक मार्ग ज्रिण अवस्थामा छ । र ती सडक मार्ग निर्माणमा हुलाकी सडक मार्ग परियोजना र सडक निर्माण कम्पनी उदासिन रहेकोले सो क्षेत्रमा बसोवास गरिरहेका लाखौं जनता प्रभावित बनेका छन् ।
हुलाकी सडक मार्ग अन्तर्गत सिंघिया नदिदेखि कटहरीको फुलटोलसम्मको सडक मार्ग निर्माणको ठेक्का लिएका निर्माण कम्पनी सम्पर्क विहिन अवस्थामा छ । ती सडक मार्ग भएर बर्षायाममा सवारी साधन कुदने अवस्था नरहेकोले अबिलम्ब सडक निर्माणको काम सुचारु हुनुपर्ने माग गर्दै धर्ना कार्यक्रम संचालन गरिएको जनता समाजवादी पार्टी नेपालका मृत्यून्जय झाले बताए ।
आइतबारदेखि सुरु भएको अनिश्चितकालीन धर्ना कार्यक्रममा मोरङ क्षेत्र नम्बर ५ का संघिय सांसद योगेन्द्र मण्डल (योगी) राजनैतिक तथा समाजसेवी उमेश कुमार यादव, नेपाली कांग्रेस कोशी प्रदेश समितिका कोषाध्यक्ष राजेश गुप्ता, सदस्य दिनानाथ आचार्य, कटहरी गाउँपालिकाका पूर्वअध्यक्ष रामकुमार कामत सहित विभिन्न राजनैतिक दलका नेता र नागरिक संघर्ष समितिका पदाधिकारीहरुको सहभागिता रहेको छ ।