लापसे सेवनकर्ता ९ चालक प्रहरी हिरासतमा

  • ब्रह्मदेव यादव, विराटनगर ५२४  पटक हेरिएको

शुक्रबार, साउन १९, २०८० समय : १५:३५:०८ , १ वर्ष अगाडि

लागुपदार्थ सेवन गरेर सवारी साधन कुदाउने ९ जना चालक प्रहरी हिरासतमा पुगेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले शुक्रबार नेपाल भारतको सिमान्त क्षेत्र रानी नाकामा सवारी साधन चेकजाँच गर्दा लागुपदार्थ सेवन गरेका ९ जना चालकलाई नियन्त्रणमा लिएका थिए । र किट प्रविधि मार्फत पिसाब परिक्षण गर्दा ९ जनै चालक लागुपदार्थ सेवन गरेको पुष्टि भएको छ । र ति सबैलाई कारवाहीका लागि ईलाकाप्रहरी कार्यालय रानीमा पठाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरिक्षक सुनिल कुमार श्रेष्ठले बताए ।

सिमान्त क्षेत्र रानी नाकामा मोरङ प्रहरीले लागुपदार्थ सेवन नियन्त्रण अभियान सञ्चालनमा ल्याएको छ । जुन कार्यमा नेपाल प्रहरीको लागुऔषध व्यूरो, जिल्ला प्रहरी कार्यालय मोरङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ लापसे अभियानलाई सफल बनाउन जोडतोडका साथ काम गरी रहेका छन् । मोरङ प्रहरीले इलाका प्रहरी कार्यालय रानी र सिमा प्रहरी चौकी रानी मार्फत लागुपदार्थ सेवन गर्न जोगबनी जाने दुव्र्यसनीहरुलाई रोकेर फिर्ता पठाउने अभियान सञ्चालमा ल्याएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले टेम्पो, सिटी सफारी र मोटरसाईकल कुदाउने व्यक्तिले लापसे सेवन गरे, नगरेको विषयमा चेक जाँच अभियानलाई तिब्रता दिएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख श्रेष्ठ, इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरिक्षक प्रकाश रेग्मी, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी नायव निरिक्षक सुन्दर श्याम पोखरेल र विराटनगर भन्सार कार्यालय ट्राफिक प्रहरी पोष्टका प्रमुख प्रहरी सहायक निरिक्षक प्रेम साहले लापसे सेवन कर्तालाई लापसे सेवन गर्दा फाइदा र बेफाइदाको बारेमा प्रशिक्षण प्रदान गरेका थिए । शुक्रबार नै लापसे सेवन गरेर विराटनगर फर्किरहेका ५० भन्दा बढि लापसे सेवन कर्तालाई प्रहरीले नियन्त्रणमा लिएर प्रशिक्षण पश्चात छोडेका थिए । जसमा विराटनगरको रेष्टुरेन्टमा काम गर्ने केही महिला समेत रहेका छन् ।