कोशी प्रदेशमा थापा पुनः मुख्यमन्त्री नियुक्त

  • ब्रह्मदेव यादव, विराटनगर ९१८  पटक हेरिएको

मंगलबार, साउन १६, २०८० समय : १९:१९:२८ , १ वर्ष अगाडि

उद्धव थापा पुनः कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । नेपाली कांग्रेस कोशी प्रदेश संसदिय दलका नेता थापा ४७ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएको हो । ९३ सदस्यीय कोशी प्रदेश सभामा ४७ आवश्यक बहुमत संख्या हो । मुख्यमन्त्री थापाको आफ्नै दल नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकिकृत समाजवादीका ४ र जनता समाजवादी पार्टी नेपालका १ गरेर ४७ सांसदको समर्थनमा थापा मुख्यमन्त्री नियुक्त भएको हो ।

यस अघि २०८० असार २१ गते पहिलो पटक कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त थापालाई सर्वोच्च अदालतले अयोग ठहर गरिदिएको थियो । यस अघि थापा ४७ सांसदकै समर्थनमा मुखयमन्त्री नियुक्त भएका थिए । ४७ सांसद मध्ये कोशी प्रदेशका सभामुख बाबुराम गौतमले हस्ताक्षर गरेका थिए । नेकपा एमाले कोशी प्रदेश संसदिय दलका नेता तथा पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले सभामुखको हस्ताक्षरमा मुख्यमन्त्री बन्न नमिल्ने जिकिर गर्दै थापालाई बरखास्त गर्न सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सर्वोच्च अदालतले सभामुखकै कारण थापालाई अयोग्य ठहर गरिदिएका थिए । तर मंगलबार थापा सभामुख गौतमलाई राजिनामा गर्न लगाएर ४७ सांसदकै समर्थनमा मुख्यमन्त्री नियुक्त भएको हो । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका छन् । बुधबार मुख्यमन्त्रीमा नियुक्त थापाले पद तथा गोपनियताको सपत ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ ।