अतिथि सदनमा २ दिने श्रावण मेला सुरु

  • चिरफार डटकम, विराटनगर ९२२  पटक हेरिएको

शुक्रबार, साउन ०५, २०८० समय : १४:१९:१७ , १ वर्ष अगाडि

विराटनगरस्थित अतिथि सदनमा २ दिने श्रावण मेला सुरु भएको छ । माहेश्वरी महिला मञ्च विराटगनरले अतिथि सदनको तेस्रो तल्लामा शुक्रबारदेखि सञ्चालनमा ल्याएको श्रावण मेला शनिबारसम्म चल्ने छ । मेलामा विराटनगर सहित भारतको कलकता लगायत विभिन्न सहरमा उत्पादन गरिएको रेडिमेड कुर्ता सल्वार, साडीदेखि जुत्ता चप्पल, कस्मेटिकका ३० भन्दा बढि पसल रहेका छन् । महिला उद्यमीले उत्पादन गरेको सामग्रीलाई मेलामा विशेष स्थान दिएको छ । २ दिने श्रावण मेला सम्पन्न गर्न ३ लाख रुपैयाँ खर्च हुने छ ।

मेलाबाट बचेको रकम बेरोजगार महिलालाई रोजगार बनाउने गरी सिप मुलक तालिम दिने र ८ जना महिलालाई सिलाई मेसिन तथा ६ जना अपाङ्गता भएका व्यक्तिलाई कृतिम हातखुट्टा प्रदान गर्ने उद्देश्यका साथ २ दिने श्रावण मेलाको आयोजना गरिएको मञ्चका अध्यक्ष पुनम राठीले बताईन । अध्यक्ष राठीका श्रीमान् रमेश राठी, ससुरा चम्पालाल राठी र देवर दिवाकर राठीले श्रावण मेलालाई भव्य रुपमा सम्पन्न गर्न बिहीबार अबेर रातीसम्म अतिथि सदनमा राखिएको पसलको व्यवस्थापन गरेका थिए ।

 

मोरङका प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवले शुक्रबार भव्य समारोहका बिच श्रावण मेलाको उद्घाटन गरेको हो । मञ्चका अध्यक्ष पुनम राठीको अध्यक्षतामा सम्पन्न मेलाको उद्घाटन समारोहमा प्रमुख अतिथि विरेन्द्र कुमार यादव, माहेश्वरी समाज विराटनगरका अध्यक्ष आनन्द मारु, निवर्तमान अध्यक्ष नन्दकिशोर राठी, नेपाल माहेश्वरी परिषदका उपाध्यक्ष आनन्द जाजु, अखिल भारत वर्षीय माहेश्वरी महिला संगठनको पूर्वाञ्च उपाध्यक्ष गिरीजा सारडा, अखिल भारत वर्षीय माहेश्वरी युवा संगठनका सयुक्त मन्त्री विवेक राठी, माहेश्वरी युवा मञ्च विराटनगरका अध्यक्ष अजय राठी, मञ्चका पूर्व अध्यक्ष तथा सल्लाहकार रचना राठी, मञ्चका सचिव सितल वाहेती, कोषाध्यक्ष अर्चना तापडिया, कार्यक्रम संयोजिका सरिता राठी, अतिथिको रुपमा कार्यक्रममा सहभागी थिए ।

कार्यक्रममा अखिल भारत वर्षीय माहेश्वरी महिला संगठनका पूर्वाञ्चल उपाध्यक्ष गिरीजा सारडालाई सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादव, माहेश्वरी महिला मञ्च विराटनगरका अध्यक्ष पुनम राठीले सारडालाई सम्मान गरेको हो ।