- ... १२३१ पटक हेरिएको
मंगलबार, पुष २६, २०७९ समय : १८:४३:१३ , २ वर्ष अगाडि
- ब्रह्ममदेव यादव, विराटनगर
नेकपा माओवादी केन्द्रका प्रदेश सांसद बाबुराम गौतम १ नं. प्रदेशको सभामुख भएका छन् । गौतम ओखलढुंगा जिल्लाको निर्वाचन क्षेत्र १ को २ प्रदेश सभाबाट निर्वाचित प्रदेश सांसद हुन् । सत्ताघटक ४ दलिय गठबन्धन सहित प्रतिपक्ष नेकपा एकिकृत समाजवादीका सांसदको समर्थन गौतमलाई रहेको छ । २९ सांसद रहेको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नै दर्ता गराएन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश सांसद अमृत अर्यालले कांग्रेस संग आवश्यक सांसद संख्या नरहेकोले सभामुखमा उम्मेदवारी नदिएको बताए ।
१ नं. प्रदेश सभाको मंगलबार बसेको बैठकले पुस २८ गते सभामुखको निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेका थिए । मंगलबार ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय सिमा निर्धारण गरेकोमा सभामुख पदकालागि गौतमको मात्रै उम्मेदवारी परेको थियो । नेकपा एमाले प्रदेश संसदिय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्ताव र माओवादी केन्द्रका नारायण बुर्जा मगर, राप्रपाका गोपालबहादुर विश्वकर्मा तथा नेकपा एकिकृत समाजवादीका कमल जबेगुले गौतमलाई समर्थन गरेका थिए ।
१ नं. प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले सभामुखमा गौतमको मात्रै उम्मेदवारी परेकोले उनी र्निविरोध सभामुख निर्वाचित भएको जानकारी गराए । तर यसको अन्तिम नतिजा २८ गते प्रदेश सभाले घोषणा गर्ने बताए ।नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपा नेपालका १ गरी ६० सांसदको समर्थनमा आइतबार १ नं. प्रदेशको मुख्यमन्त्रीमा नियुक्त नेकपा एमाले संसदिय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्र सहभागी भएको छैन ।
सोमबार कार्कीले मुख्यमन्त्री पदको सपथ लिएर मन्त्रीमण्डल गठन गर्दा माओवादी केन्द्र सरकारमा सहभागी भएन । सत्ताघटक एमाले र माओवादी केन्द्रका शिर्षनेताले १ नं. प्रदेशमा ५ बर्षसम्म एमालेले एकलौटी सरकार चलाउने गरेको निर्णयमा पुर्नः बिचार नगरेसम्म माओवादी केन्द्र १ नं. प्रदेश संसदिय दल कार्की नेतृत्वको सरकारमा सहभागी नहुने अडानमा छ ।
माओवादी केन्द्र १ नं. प्रदेश संसदिय दलका नेता इन्द्रबहादुर आङबोले अढाई अढाई बर्ष आलोपालो गरेर एमाले र माओवादी केन्द्रले प्रदेश सरकार संचालन गर्नुपर्ने माँगमा आफु अडिग रहेको बताए । मुख्यमन्त्री कार्कीले सोमबार एमाले, राप्रपा र जसपा नेपालबाट १/१ जनालाई बिना विभागीय मन्त्रीमा नियुक्त गरेको छ । प्रदेशको १३ वटा मन्त्रालय मुख्यमन्त्री कार्कीले आफैसंग राखेका छन् । सोमबार नै बसेको मन्त्री परिषद्को बैठकले १३ वटा मन्त्रालयलाई संख्या घटाएर ९ मा झार्ने निर्णय गरेको छ ।