- ब्रह्मदेव यादव, विराटनगर २८३०७ पटक हेरिएको
सोमबार, साउन ०१, २०८० समय : १४:३९:०८ , १ वर्ष अगाडि
आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७८/०७९ को तुलनामा आर्थिक वर्ष २०७९/०८० मा मुल्य अभिवृद्धिकर शिर्षकमा ११७ प्रतिशतले बढी राजश्व असुली गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७९/०८० मा मुल्य अभिवृद्धिकर शिर्षकमा ९७ प्रतिशतले राजश्व असुली गरेको छ ।
कार्यालयले मुल्य अभिवृद्धि कर तर्फ २ अर्ब ६० करोड रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य राखेकोमा २ अर्ब ५१ करोड रुपैयाँ राजश्व असुली गर्न सफल भएको छ । आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत डा. डि.वि. क्षेत्रीले आर्थिक वर्ष २०७९/०८० मा १० अर्ब ४ करोड रुपैया राजश्व असुली गर्ने लक्ष्य राखेकोमा ७ अर्ब ७१ करोड रुपैयाँ राजश्व असुली भएको जानकारी गराएको छ । जुन लक्ष्यको तुलनामा ७७ प्रतिशतले राजश्व असुली हो ।
कार्यालयले आयकर तर्फ ३ अर्ब ७२ करोड रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य राखेकोमा २ अर्ब ९८ करोड रुपैयाँ राजश्व असुली गरेको छ । जुन लक्ष्यको तुलनामा ८० प्रतिशतले राजश्व असुली हो । कार्यालयले अन्तशुल्क कर तर्फ ३ अर्ब ५३ करोड रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य लिएकोमा २ अर्ब ५ करोड रुपैयाँ राजश्व असुली गरेको छ । जुन लक्ष्यको तुलनामा ५८ प्रतिशतले राजश्व असुली हो ।
आर्थिक वर्ष २०७९/०८० मा अन्तशुल्कका उद्योगले न्यूनतम मात्रामा मदिरा उत्पादन गरेकोले सोचेअनुसार राजश्व असुली हुन नसकेको कार्यालय प्रमुख क्षेत्रीको भनाई छ । आर्थिक वर्ष २०७८/०७९ को तुलनामा आर्थिक वर्ष २०७९/०८० मा तिब्र गतिमा बजार अनुगमन गरिएको, बाँकी बक्यौता असुलीमा ताकेता गरिएको, नियमित विवरण नबुझाउनेको हकमा अनुगमन गरेर ताकेता गरिएकोले मुल्यअभिवृद्धिकर तर्फ राजश्व असुलीमा वृद्धि भएको प्रमुख डा. क्षेत्रीले बताए ।
कार्यालयले कर वक्यौता असुली गर्न लामो समयदेखि कर नतिर्ने उद्योगी व्यवसायीलाई कानुनी कारवाही अगाडी बढाउने प्रक्रिया अगाडी बढाएको छ । आर्थिक वर्ष २०८०/०८१ मा सरकारले ल्याएको नीतिगत व्यवस्था अनुरुप आर्थिक ऐनले ल्याएका कानुनलाई कडाईका साथ कार्यान्वय गराउन अगाडी बढ्ने कार्यालयले योजना अगाडी सारेको छ ।
कार्यालयले कार्यतालिका बनाएर लामो समयदेखि कर नतिृर्ने उद्योगी व्यवसायीको फर्मको अनुगमन गरेर रकम असुली गर्न कानुनी प्रक्रिया अगाडी बढाउने तयारी गरेको छ । अवैध कारोवार गर्ने र कारोवार लुकाउने, कारोवार लुकाएर कम राजश्व दाखिला गर्ने करदातालाई करदाताको फर्मको कारोवारको छानविन गरेर कानुनी कारवाही गर्ने लक्ष्य लिएको प्रमुख डा. क्षेत्रीले बताए ।
कार्यालयमा प्रमुख कर अधिकृत डा. क्षेत्री सँगै अशोक गुरागाई, रमेश ओझा, भोजप्रसाद खनाल, विमल पौडेल, चिरिञ्जिवी काफ्ले अधिकृत रहेका छन् । र सबैको कडा मेहनत, लगनशिलका कारण चरम आर्थिक मन्दिबाट गुज्रिरहेको देशको विषम परिस्थितिमा पनि कार्यालयले उत्साहजनक रुपमा राजश्व असुली गर्न सफल भएका छन् ।