- ब्रह्मदेव यादव, विराटनगर ६६८ पटक हेरिएको
मंगलबार, आषाढ १९, २०८० समय : १७:४०:१५ , १ वर्ष अगाडि
सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस कोशी प्रदेश संसदियदलका नेता उद्धव थापालाई प्रस्ताव गरेको छ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको समय सिमाभित्रै बुधबार सत्ता गठबन्धनले थापालाई मुख्यमन्त्री बनाउने दावी ठोक्दै छ । विहीबार थापाले कोशी प्रदेशको मुख्यमन्त्री पदको सपथ ग्रहण लिने कार्यक्रम रहेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत प्राप्त गर्न नसकेपछि असार १५ गते मुख्यमन्त्रीबाट पदमुक्त भएका थिए । ९३ सदस्य कोशी प्रदेश सभामा बहुमतकालागि ४७ सांसदको आवश्यकता पर्छ । मुख्यमन्त्री कार्की सँग नेकपा एमालेका ४० र राप्रपाका ६ गरेर ४६ सांसद मात्र रहेकोले विश्वासको मत सावित गर्न सकेन ।
नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकिकृत समाजवादीका ४ र जनता समाजवादी पार्टी नेपालका १ गरेर सत्ता गठबन्धन दलको तर्फबाट मुख्यमन्त्री प्रस्तावित थापा सँग ४७ सांसद छ । बहुमतकालागि ४७ सांसद आवश्यक पर्छ ।
कोशी प्रदेश सभामा नेकपा माओवादी केन्द्रको तर्फबाट बाबुराम गौतम सभामुखको भूमिकामा रहेका छन् । र बहुमत सावित गर्ने बेलामा मतदान गर्नु अघि सभामुखले राजिनामा गर्नु पछ । त्यसपछि नेकपा एमालेका तर्फबाट उपसभामुख रहेकी सृजना दनुवार कायम मुकायम सभामुख बन्ने छन् ।
अर्को सभामुखको निर्वाचन नहुदाँसम्म कायममुकायम सभामुख दनुवारलाई एमालले परिचालन गरेर आफु अनुकुल प्रदेश सभाको बैठक सञ्चालन गर्ने भएकोले माओवादी सभामुख पद छोड्न चाहेको छैन । त्यसकालागि सत्ता गठबन्धनले राप्रपालाई सरकारमा ल्याउनै पर्ने बाध्यता रहेको छ ।