कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की पदमुक्त

  • चिरफार डटकम, विराटनगर ९४४  पटक हेरिएको

शुक्रबार, आषाढ १५, २०८० समय : १५:२४:१५ , १ वर्ष अगाडि

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की शुक्रबार पद मुक्त भएका छन् । २०७९ पुष २५ गते मुख्यमन्त्रीको सपथ ग्रहण गरेका कार्कीले ५ महिना २० दिन कोशी प्रदेशको मुख्यमन्त्रीको हैसियतमा काम गर्ने अवसर प्राप्त गरेका छन् । मुख्यमन्त्री कार्की पद मुक्त भएसँगै कोशी प्रदेशमा रहेको नेकपा एमाले नेतृत्वको सरकार ढलेको छ ।

कोशी प्रदेश सभामा शुक्रबार विश्वासको मत हासिल गर्न नसक्दा मुख्यमन्त्री कार्की पद मुक्त भएको हो । कोशी प्रदेश सभामा बहुमतकालागि ४७ सांसदको संख्या आवश्यक रहेको थियो । तर मुख्यमन्त्री कार्कीले ४६ मत मात्र प्राप्त गर्न सकेपछि पद मुक्त भएको हो । अर्को सरकार गठन नभएसम्म कम चलाउको रुपमा मुख्यमन्त्री कार्कीले काम गर्ने छन् ।

मुख्यमन्त्री कार्कीको आफ्नै दल नेकपा एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसदले मुख्यमन्त्री कार्कीको पक्षमा मतदान गरेका थिए । नेपाली कांग्रेसका २८, नेकपा माओवादी केन्द्रका ११ र नेकपा एकिकृत समाजवादीका ४ गरेर ४३ सांसदले विपक्षमा मतदान गरेका थिए । ९३ सदस्य कोशी प्रदेश सभामा ८९ सांसद निर्वाचनमा सहभागि थिए । कांग्रेसका ममता तामाङ, माओवादीका नारायण बुर्जा मगर निर्वाचनमा अनुपस्थित रहेका थिए ।

जनता समाजवादी पार्टी नेपालका तर्फबाट १ मात्र सांसद निर्मला तावा लिम्बु निर्वाचन प्रकृयामा भाग लिए । सभामुख निर्णायक रहने भएकोले कोशी प्रदेशका सभामुख बाबुराम गौतम पनि निर्वाचन प्रकृयामा सहभागी भएनन् । २०७९ पुस २५ गते कोशी प्रदेशको मुख्यमन्त्री पदको सपथ ग्रहण गरेका कार्कीलाई ४ राजनैतिक दलले समर्थन गरेका थिए ।

२०८० जेठ १८ गते जनता समाजवादी पार्टी नेपाल र जेठ २३ गते नेकपा माओवादी केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएका थिए । अल्पमतमा परेको मुख्यमन्त्री कार्की नेतृत्वको सरकार असार १४ गते विश्वासको मत लिने कार्यक्रम रहेको थियो । मुख्यमन्त्री कार्की असार १५ गते शुक्रबार कोशी प्रदेश सभामा विश्वासको मत हासिल गर्न सकेन । अन्तहः उनले पद मुक्त हुनुपर्‍यो ।

नेपाली कांग्रेस कोशी प्रदेश संसदिय दलका नेता उद्धव थापाले २ भन्दा बढि दलको समर्थनमा बहुमतको सरकार बनाउने दावी गरेका छन् ।