- ब्रह्मदेव यादव, विराटनगर ६८७ पटक हेरिएको
बुधबार, आषाढ ०६, २०८० समय : १६:५८:५२ , २ वर्ष अगाडि
मोरङ जिल्लामा माग भन्दा कम मात्रामा माछा उत्पादन भई रहेको छ । मोरङ जिल्लामा प्रत्येक वर्ष १२ हजार मेट्रिक टन माछाको खपत छ । तर जिल्लामा १० हजार १ सय ६३.१९ मेट्रिक टन माछा उत्पादन भई रहेको छ । जुन माग भन्दा कम मात्राको उत्पादन हो ।
संयुक्त राष्ट्र संघको विश्व कृषि संगठन (एफ.ए.ओ.) ले स्वस्थ जीवनका लागि प्रति व्यक्ति प्रत्येक वर्ष २०.५ केजी भन्दा बढि माछाको सेवन गर्नु पर्ने तथ्याङ्क सार्वजनिक गरेको छ । तर नेपालमा ३.५७ किलो औषतमा मात्र माछाको सेवन भई रहेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकि करण परियोजना, परियोजना कार्यान्वयन ईकाई कार्यालय मोरङले माछा जोन अन्तर्गत जिल्लाको ५ स्थानिय तहमार्फत ४९४ हेक्टर जलासय क्षेत्रबाट प्रत्येक वर्ष २ हजार ५ सय ६८ मेट्रिक टन माछा उत्पादन गरिरहेको छ । यो आर्थिक वर्ष २०७८/०७९ को तथ्याङ्क हो । कार्यालय प्रमुख बरिष्ठ कृषि अधिकृत मनोज कुमार यादवले मोरङ जिल्लाको कटहरी गाउँपालिका, धनपालथान गाउँपालिका, ग्रामथान गाउँपालिका, सुनवर्षी नगरपालिका र रंगेली नगरपालिकामा माछा जोन अन्तर्गत ४९४ हेक्टर जलासय क्षेत्रमा माछा उत्पादन भई रहेको बताए ।
चालु आर्थिक वर्ष २०७९/०८० मा थप १५ वटा जलासय क्षेत्रमा निर्माण कार्य जारी छ । परियोजनाले आर्थिक वर्ष २०७३/०७४ देखि मोरङको कटहरी गाउँपालिकाबाट माछा उत्पादन गर्ने गरी जलासय क्षेत्रको निर्माण कार्य सुचारु गरेको थियो । र यसलाई जिल्लाको अन्य गाउँपालिका र नगरपालिकामा विस्तार गरेको छ ।
नेपाल सरकारको ३.८९ प्रतिशत राष्ट्रिय माछा उत्पादकत्व औषत रहेको छ । तर प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मोरङले ५.२ प्रतिशत औषतमा माछा उत्पादन गरिरहेको छ । आर्थिक वर्ष २०७९/०८० मा जिल्लामा थप १५ वटा जलासय क्षेत्रको निर्माण कार्य पुरा भएपछि माछा उत्पादनको औषत बढ्ने कार्यालयले अपेक्षा गरेको छ ।
माछा उत्पादनमा प्रधानमन्त्री कृषि आधुनिकीकरण प्ररियोजनाले महत्वपूर्ण उपलब्धी हासिल गरेको छ । र यसलाई निरन्तरताको आवश्यकता रहेको छ । परियोजनाले कोर्प जातिको ९० र अन्य जातीको १० प्रतिशत माछा उत्पादन गरिरहेको छ । परियोजना प्रमुख यादवले माछा उत्पादनको लागि १४ वटा जलासय क्षेत्र अर्थात पोखरीमा सिचाई व्यवस्था गरिएको बताए । मोरङमा १ माछा उद्योगको स्थापना, ६ वटा माछा नर्सरीको स्थापना, २ मत्स्य ह्याचरीको स्थापना गरिएको यादवले बताए ।