- ब्रह्ममदेव यादव, विराटनगर ६१६ पटक हेरिएको
सोमबार, जेठ १५, २०८० समय : २३:२१:०० , १ वर्ष अगाडि
नेपाल सरकारले जेठ १५ गते सोमबार आर्थिक बर्ष २०८०/०८१ को लागि सार्वजनिक गरेको बजेट बारे कोशी प्रदेशका नीजि क्षेत्रले खरो प्रतिक्रिया व्यक्त गरेका छन् । मोरङ व्यापार संघ विराटनगरका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य नविन रिजालले चरम आर्थिक मन्दिको सामना गरिरहेको नीजि क्षेत्र चर्को बैंक ब्याजदरका कारण संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । त्यस्तो अवस्थामा सरकारले ल्याएको बजेट चर्को बैंक ब्याजदरका विरुद्ध मौन रहेकोले दुःख व्यक्त गर्नु बाहेक अरु केही बोल्न अवस्था नरहेको खरो टिप्पणी गरे ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य राजेन्द्र राउतले विराटनगरको रिङ रोड, विशेष आर्थिक क्षेत्र र औधोगिक प्रदर्शनी स्थल निर्माणको कार्यबारेमा बजेट मौन रहेकोले दुःख लागेको बताए । तर विराटनगर विमानस्थललाई कोशी प्रदेश स्तरीय प्रादेशीक विमानस्थलको स्तरउन्नती, पूर्वपक्षिम ४ लाइनको राजमार्ग निर्माण, सन् २०२३ देखि २०३३ सम्म पर्यटन वर्ष अभियान र वार्षिक १ करोड रुपैयाँसम्मको कारोवार गर्ने संस्थालाई विवरण पेश नगर्नुपर्ने बजेटको राम्रो पक्ष रहेको बताए ।
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले सुनसरी, मोरङ औद्योगिक करिडोरदेखि औधोगिक प्रदर्शनी स्थलको बारेमा बजेट मौन रहेकोले दुःख व्यक्ति गर्नु सिवाय अरु केही पनि भन्न नसक्ने बताए । उद्योग संगठन मोरङका बरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले कृषिमा अनुदान दिने सरकारी कदम स्वागत योग्य रहेको बताए । बजेटले सबै क्षेत्रलाई खुशी पार्ने प्रयास गरेको छ । तर यो कार्यन्वयनमा भरपर्ने राठीले बताए ।
मोरङ व्यापार संघका बरिष्ठ उपाध्यक्ष अनुपम राठीले सरकारले एक तर्फ स्वदेशमा रोजगारी वृद्धि गर्ने कुरा गरिरहेको छ । तर सुनसरी मोरङ औद्योगीक करिडोरमा थप उद्योग स्थापना गर्नकालागि नीजि क्षेत्रलाई दिने सुविधाको बारेमा बजेट मौन रहेकोले थप रोजगारी सृजना हुन नसक्ने बताए । संघका उपाध्यक्ष विकाशकुमार बेगवानीले कृषिमा अनुदान, अनलाइनबाटै उद्योग दर्ता र उद्योगको खारेजी, स्वदेशी तथा विदेशी उद्योगमा लगानी वृद्धिसँगै सुविधा प्रदान गर्ने सरकारको राम्रो पक्ष रहेको बताए ।
संघका पूर्वअध्यक्ष महेश जाजुले बजेटले सबै क्षेत्रलाई समेटिएकोले अर्थतन्त्र चलायमान हुने बताए । संघका पूर्वअध्यक्ष पवनकुमार सारडाले सरकारले पुरानै विषय वस्तुलाई दोहोराएर निरन्तरता दिएकोले बजेटमा नयाँपन नरहेको बताए । उद्योग संगठन मोरङका उपाध्यक्ष विपिन काबराले सुनसरी मोरङ र विराटनगर रंगेली औद्योगीक करिडोरबारे बजेट मौन रहेकोले स्वदेशमा थप रोजगारी सृजना हुनेबाटो बन्द रहेको बताए । उद्योग संगठन मोरङका कार्यकारिणी समिति सदस्य पारस लुनियाँले सबै क्षेत्रलाई समेट्ने गरी बजेट आएको छ । तर यसको कार्यान्व्यनले बजेटलाई सफल र असफल बनाउने बताए ।