मुख्यमन्त्री कार्कीको सरकारमा माओवादी सहभागि भएन

एमाले, राप्रपा र जसपा नेपालबाट एक/एक जना विना विभागिय मन्त्री

  • ... ८६६  पटक हेरिएको

सोमबार, पुष २५, २०७९ समय : १६:४६:४६ , २ वर्ष अगाडि

  • ब्रह्ममदेव यादव, विराटनगर

प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सरकारमा नेकपा माओवादी केन्द्र सहभागी भएन । नेकपा एमाले संसदिय दलका नेता कार्कीले सोमबार १ नं. प्रदेशको चौथो मुख्यमन्त्रीको रुपमा सपथ ग्रहण गरे । प्रदेश नं. १ का प्रदेश प्रमुख पर्शुराम खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कार्कीलाई मुख्यमन्त्रीको रुपमा सपथ ग्रहण गराए ।

९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । सत्ताघटक नेकपा माओवादी केन्द्रका १३ सांसदले सरकारलाई समर्थन नदिएपनि मुख्यमन्त्री कार्कीको सरकार ढल्दैन ।

मुख्यमन्त्री कार्की सित नेकपा एमालेका ४०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ र जनता समाजवादी पार्टी नेपालका १ गरेर ४७ सांसदको समर्थन छ । नेकपा एमाले प्रदेश संसदिय दलका नेता कार्कीले सोमबार १ नं. प्रदेशको मुख्यमन्त्री पदको सपथ ग्रहण गरे लगत्तै गठन गरेको मन्त्रीमण्डलमा माओवादी केन्द्र सहभागी भएन ।

माओवादी बिना मुख्यमन्त्री कार्कीले ३ सदस्य मन्त्रीमण्डल गठन गरेका छन् । एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्तिप्रसाद सिटौला र जसपा नेपालबाट निर्मला लिम्बुलाई मन्त्री बनाएको छ । र तिनै जनालाई बिना विभागिय मन्त्रीको रुपमा सपथ ग्रहण गराईएको हो । सत्ताघटक एमाले र माओवादीको शिर्षनेताको बैठकले १ नं. प्रदेशमा ५ बर्षसम्म सरकारको नेतृत्व एमालेले गर्ने निर्णयको विरुद्धमा माओवादी १ नं. प्रदेश सांसदिय दल उभिएको छ ।

सत्ताघटक एमाले र माओवादीका शिर्षनेताले प्रदेशमा एमाले र माओवादीले आलोपालो सरकार चलाउने निर्णय नगरेसम्म माओवादी मुख्यमन्त्री कार्की नेतृत्वको सरकारमा सहभागी नहुने संसदिय दलका नेता इन्द्र आङ्बोले बताए । मुख्यमन्त्री कार्कीले सपथ ग्रहण गर्नु भन्दा केही समय अघि विराटनगरमा बसेको माओवादी सांसदिय दलको बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेका थिए ।

प्रदेशमा एमाले र माओवादीले आलोपालो गरेर सरकारको नेतृत्व गर्ने निर्णय नगरेसम्म माओवादी प्रदेश संसदिय दलले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । माओवादीले मुख्यमन्त्री कार्की नेतृत्वको सरकारलाई विश्वासको मत नदिएपनि मुख्यमन्त्री कार्की नेतृत्वको सरकार ढल्दैन ।

एमालेका ४०, राप्रपाका ६ र जसपा नेपालका १ गरेर मुख्यमन्त्री कार्की संग अहिलेपनि ४७ सांसदको समर्थन छ । ९३ सदस्य प्रदेश सभामा मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त गर्न आवश्यक ४७ सांसद छ । जुन स्पष्ट बहुमत हो । सोमबार मुख्यमन्त्री कार्कीको सपथ ग्रहण समारोहमा माओवादी प्रदेश संसदिय दलका नेता आङ्बो सहभागी थिए ।

आइतबार एमाले संसदिय दलका नेता कार्कीलाई ४ दलले हस्ताक्षर गरेर मुख्यमन्त्रीमा प्रस्ताव गरिसकेपछी सपथ ग्रहण समारोहमा आफु सहभागी भएपनि कार्कीलाई आफ्नो दलले विश्वासको मत नदिने आङ्बोले बताए ।