अतिथि सदनले स्वर्णजयन्ती मनाउने तयारी थाल्यो

  • चिरफार डटकम, विराटनगर ५७०  पटक हेरिएको

बिहिबार, जेठ ११, २०८० समय : १८:३८:२८ , २ वर्ष अगाडि

विराटनगर स्थित अतिथि सदनले असार १६ गते स्वर्णजयन्ती मनाउने तयारी थालेको छ । स्वर्णजयन्ती भव्य रुपमा मनाउन सदनले सुशिल धनावतलाई संयोजक र कार्यकारीणी सदस्य संजय दुगडलाई सचिवको जिम्मेवारी प्रदान गरेको छ । २०५२ सालमा स्थापना भएको अतिथि सदन ५२ वर्षमा प्रवेश गरेको छ । कोभिड १९ महामारीको कारण अतिथि सदनले २ बर्ष ढिलो गरेर भएपनि ५० वर्ष पुरा गरेको अवसर पारेर स्वर्णजयन्ती महोत्सव मनाउन लागेको हो ।

अतिथि सदन विराटनगरका अध्यक्ष उद्योगी दिनेश गोल्छाले पत्रकार सम्मेलन गरेर स्वर्णजयन्तीलाई भव्य रुपमा सम्पन्न गर्न आँखा शिविर, रक्तदान, होमियोपेथिक शिविर, एक्कल विद्यालयका विद्यार्थीलाई पाठ्य सामग्री वितरण र एक वर्षसम्म बालबालिकाहरुको लागि खोप कार्यक्रम संचालन गर्ने तयारी गरेको छ । सदनले जेठ १३ गते शनिबार आँखा शिविर आयोजना गर्ने तयारी गरेको छ । जसका लागि सदनका उपाध्यक्ष, जितेन्द्रकुमार राठीलाई संयोजक तोकेको छ । सदनले जेठ १७ गते बुधबार वृहत रुपमा रक्तान कार्यक्रम गर्ने तयारी थालेको छ । जसका लागि कार्यकारीणी सदस्य तथा स्वर्णजयन्ती महोत्सव आयोजक समितिका सचिव संजय दुगडलाई संयोजक तोकेको छ ।

सदनले जेठ १७ गते बुधबार नै रक्तान कार्यक्रम सँगै होमियोपेथिक निःशुल्क शिविर संचालन गर्ने तयारी गरेको छ । जसका लागि कोषाध्यक्ष घनश्याम राठीलाई संयोजक तोकेको छ । सदनले जेठ २० गते शनिबार मोरङको ग्रामथान गाउँपालिकाको हात्तीमुडा स्थित एक्कल विद्यालयमा अध्ययनरत ३ सयभन्दा बढि विद्यार्थीलाई पाठसामग्री वितरण गर्ने कार्यक्रम तय गरेको छ । जसका लागि उपाध्यक्ष सुधिर कुमार अग्रवाललाई संयोजक तोकेको छ ।

सदनले असार १२ गते मंगलबार बालबालिकाहरुका लागि खोप कार्यक्रम संचालन गर्ने तयारी गरेको छ । जुन कार्यक्रम निरन्तर १ वर्षसम्म संचालन हुनेछ । जसका लागि कार्यकारीणी सदस्य विमलकुमार अग्रवाललाई संयोजक तोकेको छ । १ जुलाई सन् २०२३ अर्थात २०८० साल असार १६ गते अतिथि सदन विराटनगरको स्वर्णजयन्तीको मुख्य कार्यक्रम चल्ने छ । सदनले स्वर्णजयन्तीको अवसरमा पुस्तक र स्मारिका विमोचन गर्ने कार्यक्रम तय गरेको छ ।