भ्रष्टाचार विरुद्ध विराटनगरमा वृहत नागरिक आन्दोलन

  • चिरफार डटकम, विराटनगर ४६०  पटक हेरिएको

आइतबार, बैशाख ३१, २०८० समय : १८:३१:५६ , २ वर्ष अगाडि

राजनैतिक दलभित्र रहेको भ्रष्टाचारीलाई कानुनी प्रकृयामा ल्याउनुपर्ने माग गर्दै विराटनगरमा वृहत नागरिक आन्दोलन सुरु भएको छ । सत्ताघटक र प्रमुख प्रतिपक्ष दलका नेताहरु समेत आन्दोलनमा सहभागिता जनाई रहेको छन् ।

दलभित्र रहेको जुनसुकै पार्टीका भ्रष्टाचारी छविका नेताहरुलाई कानुनी कारवाहीको माग गर्दै वृहत नागरिक आन्दोलन सँगै हस्ताक्षर अभियान सुरु गरिएको छ । साँझा मञ्च–साँझा सवाल भ्रष्टाचार सबैको सरोकार मुल मन्त्रका साथ सुरु भएको वृहत नागरिक आन्दोलनले आइतबार चौथो दिन निरन्तरता पाएको छ ।

भ्रष्टाचारमा संलग्न नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुलाई कानुनी प्रकृयामा नल्याए सम्म आन्दोलनलाई निरन्तरता दिने नागरिक अगुवाहरुले उदघोष गरेका छन् ।

विराटनगरको ट्राफिक चोकमा प्रत्येक साँझपख वृहत नागरिक आन्दोलनको ब्यान मुनी विराटनगरवासी धर्नामा बसेर भ्रष्टाचारीहरुलाई कानुनी कारवाही गर्न माग गर्न थालेका छन् । आइतबार विराटनगरस्थित अरनिको माध्यमिक विद्यालयका प्रिन्सिपल राजेश कार्की, मेरिल्याण्ड कलेजका प्रिन्सिपल लक्ष्मण ढकाल, मेरिल्याण्ड कलेजका संचालक भेषराज पोखरेलसहित नागरिक अगुवाहरु आन्दोलनको नेतृत्व गरेका थिए । नेपाली कांग्रेस कोशी प्रदेश सभाका निवर्तमान सांसद सूर्यामा राई, कांगेस नेतृ अञ्जु दाहाल र नेकपा एकिकृत समाजवादी पार्टीका युवा नेता वासिम आलम आन्दोलनमा सहभागि थिए ।